कोरोना संक्रमितले कसरी परीक्षा दिने ?

काठमाडौँ । कोरोना भाईरको कारण सम्पूर्ण विद्यालयहरु बन्द छन् तर, यतिबेला विश्वविद्यालयहरुले भने पूर्व निर्धारित तालिकाअनुसारको परीक्षाहरु भने संचालनमा रहेको छ । अहिले स्नातक तह चौथो वर्षको परीक्षा चलिरहेको छ । यस्तो अवस्थामा कोरोना संक्रमित विद्यार्थीले कसरी परीक्षामा भाग लिने भन्ने अन्योल कायमै रहेको अवस्थामा परीक्षा जारी छ ।

विश्वविद्यालयले कोरोना सङ्क्रमित भएका परीक्षार्थीलाई अलग राखेर परीक्षा सञ्चालन गरेको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार अहिले राजधानीका विभिन्न परीक्षा केन्द्रबाट १७ जना कोरोना सङ्क्रमितले परीक्षा दिइरहेका छन् । परीक्षा नियन्त्रण कार्यालयले अहिले स्नातक तह चौथो वर्षको परीक्षा सञ्चालन गरिरहेको छ ।
संक्रमित परीक्षार्थीलाई ठूलो कोठामा राखेर परीक्षा दिने व्यवस्था गरिएको छ । सङ्क्रमितको उत्तरपुस्तिका निर्मलीकरण गरेर छुट्टै खाममा राखी सम्बन्धित कार्यालयमा लैजाने व्यवस्था गरिएको छ । परीक्षा नियन्त्रक जोशीका अनुसार काठमाडौँको कलङ्कीस्थित रिचमन्ड एकेडेमीमा पनि तीन सङ्क्रमितले परीक्षा दिइरहेका छन् । नवोदित र पाटन बहुमुखी क्याम्पसमा पनि दुई–दुई जना सङ्क्रमितले परीक्षा दिइरहेका छन् ।

उपत्यकाबाहिरका केन्द्रबाट भने सङ्क्रमितको तथ्याङ्क नआएको पनिकाले जनाएको छ । कोरोना सङ्क्रमितले परीक्षामा बस्न चाहेको अवस्थामा ७२ घण्टाअगाडि पीसीआर परीक्षण गरेको रिपोर्ट पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । यसैबीच कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि हाल सञ्चालनमा रहेका र छिट्टै हुन लागेका परीक्षा प्रभावित हुने भएका छन् । स्नातक तहअन्तर्गत हाल पहिलो र तेस्रो वर्षको पढाइ सकिइसकेको छ भने दोस्रो वर्षको पढाइ अन्तिम चरणमा पुगेको छ ।
विभिन्न चुनौतिको साथमा पनि परीक्षा संचालन भईरहेको अवस्थामा राज्य पक्षले बिना तयारी परीक्षा गरिरहेकाले यसबाट थप अन्य परीक्षार्थीहरु, र परीक्षा संचालकहरु पनि संक्रमित हुने संभावना बढेको छ ।