निःशुल्क कोभिडविरुद्धको खोप दिइने काठमाडौंका ६ वटा अस्पतालहरु यी हुन्


काठमाडौं । काठमाडौंका ६ वटा निजी अस्पतालबाट कोभिड–१९ विरुद्धको खोप निःशुल्क दिइने भएको छ ।

सीतापाइलाको शुभेच्छा अस्पताल, बालाजुको पिपल्स डेन्टल हस्पिटल, बालाजुकै जनमैत्री अस्पताल, बागबजारको काठमाडौं मोडेल अस्पताल, थापाथलीको नर्भिक अस्पताल र सिनामंगलको नोबेल अस्पतालबाट खोप दिन लागिएको हो ।

ती अस्पतालबाट भेरोसेल, एस्ट्राजेनेका खोपका दुवै डोज र विदेश जान लागेकाहरूका लागि जोनसन एन्ड जोनसनको खोप दिन लागिएको स्वास्थ्य कार्यालय, काठमाडौंका प्रमुख शम्भु काफ्लेले जानकारी दिए ।

सरकारले देशभरका ५० भन्दा बढी शय्या भएका अस्पताल र मेडिकल कलेजहरूबाट कोभिड–१९ विरुद्धको खोप दिने निर्णय गरेको थियो ।

सोही निर्णयानुसार खोप कार्यक्रम सञ्चालनका लागि आवेदन दिएका अस्पतालमा कोल्डचेनको अवस्था र जनशक्तिलाई हेरेर खोप लगाउन अनुमति दिएको सरकारले जनाएको छ ।