आज सेयर बजार ५४ अंकले बढ्यो

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५४ अंकले बढेर बन्द भएको छ । कारोबार सुरू भएदेखि बढ्न थालेको नेप्से परिसूचक उत्साहजनक रूपमा बढेर बन्द भएको हो ।

यसक्रममा आज ६ अर्ब ६६ करोड ९७ लाख रुपैयाँ बराबरको एक करोड १८ लाख कित्ता सेयर किनबेच भएको छ । परिसूचक बढेपनि आज कारोबार रकममा भने गिरावट आएको छ । हिजो बुधबार ८ अर्ब तीन करोड रुपैयाँको कारोबार भएको थियो । यस्तै, हिजो परिसूचक ३० अंकले घटेको थियो ।

आज ५४ अंकले बढेसँगै नेप्से परिसूचक २८ सय ५७ अंकमा पुगेको छ । यो साताभरमा हिजो बुधबार मात्रै नेप्सेमा गिरावट आएको थियो । यसबाहेक अन्य दिन नेप्से परिसूचक निरन्तर उकालो लागिरहेको छ ।

यसैगरी, आज माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सेयर सबैभन्दा बढी कारोबार भएको छ । आज तामाकोसीको ३४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । यसपछि अपि पावरको सेयर २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।