अफगानिस्तानमा खानेकुरा किन्न पनि पैसा छैन

अफगानिस्तान । जाडोयामसँगै अफगानिस्तानमा क्रुर मानव संकटले पनि गति लिइरहेको छ । तालीबानको सत्ता र अन्तर्राष्ट्रिय नाकाबन्दीले देशको अर्थतन्त्रलाई पतनको स्थितिमा पुर्याएको छ ।

यतिबेला त्यहाँ खानेकुरा किनबेच हुने स्थलमा समेत तालिबानहरु गार्ड बसिरहेका छन् । जबकी देशका आधा भन्दा बढी जनतामा खाद्यान्नको चरम अभाव छ ।

वास्तवमा शहरका मुख्य बजार हेर्दा हेर्दा बोराभरि नुन, चामल, बदाम, खाने तेल जस्ता दैनिक उपभोग्य वस्तु टन्नै राखिएको देखिन्छ ।

तर त्यहाँका धेरै मानिसका लागि ती खाद्य वस्तु खरिद गर्नु पहुँच बाहिरको कुरा बनेको छ । र यदि कसैले अहिले ती खाद्यान्न पाए भने पनि उनीहरुले धेरै दिनमा पहिलोपटक खाना खानेछन् ।

यसमा आश्चर्यजनक कुरा के छ भने राजधानी काबुलको केन्द्रमा रहेको बजार भरि खानेकुरा र सामानहरु भरिभराउ भएर पनि त्यहाँ कसैसँग खरिद गर्ने पैसा छैन ।

काबुलमा मात्र नभएर देशभरि नै अवस्था यस्तै छ । त्यसैले हुनेखाने परिवार समेत यतिबेला विश्व खाद्य कार्यक्रमले वितरण गर्ने सहायताको प्याकेज पर्खिरहेका छन् ।

पश्चिमी सरकारहरुको सहयोग नपाउनाले अफगानिस्तानमा बेरोजगारी दर अचानक बढ्दा एकदम कमै मात्र आफ्नो परिवारको छाक टार्न सक्ने अवस्थामा छन् भने घरलाई तातो राख्नमा पनि अधिकांशलाई निकै कठिन छ ।

संयुक्त राष्ट्र संघका अनुसार त्यहाँका झन्डै दश लाख बालबालिका गम्भीर कूपोषणको उच्च जोखिममा छन् जसकारण सम्पूर्ण विश्व समुदायलाई सहयोगका लागि यसले अपील गरिरहेको छ ।

हाल त्यहाँ मानवीय सहयोग मात्र भित्रिन अनुमति छ । महिलाहरुलाई शिक्षा लिन, काम गर्न सबै प्रतिबन्ध लगाइएको छ । यससँगै उनीहरुले आफ्नो परिवारलाई खुवाउने पाल्ने अधिकार पनि गुमाएका हुन् ।

यसरी खानेकुरा भएर पनि काबुल सायद कहिल्यै यति भोको थिएन होला । एक स्थानीय सहायक महिला भन्छिन्, “अहँ मेरो विचारमा यस्तो अवस्था कहिल्यै आएको थिएन ।”

त्यस्तै बाँकी दुनियाँलाई के सन्देश दिन चाहनुहुन्छ भन्ने प्रश्न गर्दा उनले यस्तो जवाफ दिइन्, “हामीले यहाँ कसरी बाँच्नु परिरहेको छ भनेर सबैले थाहा पाउनुपर्छ । हाम्रा चुनौतिहरु, हाम्रा समस्या सबैले देख्नुपर्छ । कसरी दिनदिनै कठिनाइ बढिरहेको छ । दैनिक गुजाराको मूल्य दिनकै बढिरहेको छ र हरेक पटकको नयाँ नियमले हाम्रो जीवन झन क्रुर बनाइरहेको छ । यो अफगानीहरुका लागि कदापी न्यायिक कुरा होइन ।”

अझ शहरबाट टाढा टाढाका ठाउँहरु झन भयावह अवस्थामा छन् । पहिले नै चरम गरिबीबाट गुज्रिरहेकाहरु अझ गम्भीर अवस्थामा रहेको बताइएको छ । बीबीसीबाट