लिपुलेकबारे भारतीय प्रधानमन्त्रीको आपत्तिजनक अभिव्यक्तिमा नेपाल सरकारको मौनताप्रति विवेकशील साझाको आपत्ति

Bibekshil Sajha party

काठमाडौं । नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक अभिव्यक्ति र नेपाल सरकार मौन रहेको बारे गम्भीर ध्यानाकर्षण भएको विवेकशील साझा पार्टीले जनाएको छ ।

आज शुक्रबार पार्टीका प्रवक्ता शरदराज पाठकले एक विज्ञप्ति निकालेर विवेकशील साझाले ध्यानाकर्षण भएको जनाएको हो ।

अन्तर्राष्ट्रिय कानुन विपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि लगातार ठाडो हस्तक्षेप गर्ने भारतको मिचाहा प्रवृत्ति पुनरावृत्त हुँदा नेपाल सरकारले समयमै आवश्यक प्रतिवाद गर्न नसक्ने हो भने त्यसका दुरगामी असर देशले भोग्नुपर्ने विवेकशील साझाको भनाइ छ ।

‘कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा जारी गरी संविधान संशोधनमार्फत निसान छापमा उक्त नक्सा राखिसकिएको अवस्थामा मोदीको अभिव्यक्ति जति आपत्तिजनक छ, त्यति नै आपत्तिजनक हाम्रो सरकारको मौनता र लाचारी पनि छ’ उनले विज्ञप्तिमा भनेका छन् ।

अन्तर्राष्ट्रिय कानुन विपरीत भारतले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि लगातार ठाडो हस्तक्षेप गरेको भन्दै विवेकशील साझा पार्टीले नेपाल सरकारले भारतको मिचाहा प्रवृत्तिको प्रतिवाद गर्नुपर्ने बताएको छ । यदि भारतको यो प्रवृत्तिको मिचाहा प्रवृत्तिको प्रतिवाद गर्न नसक्ने हो भने दूरगामी असर भोग्नुपर्ने विवेकशील साझा पार्टीले उल्लेख गरेको छ ।