प्रदेश २ मा कोरोना संक्रमण व्यापक बढ्दै

काठमाडौं । प्रदेश २ मा कोरोना भाईरसको संक्रमण बढ्न थालेसँगै प्रदेश सरकारले महामारीलाई रोक्न आवश्यक तयारी थालेको छ । मुख्यमन्त्री लालबाबु राउतले सबै सरोकारवाला निकायसँग कोरोना महामारीलाई फैलन नदिन तथा कोरोना संक्रमितको लागि औषधि उपचारको विषयमा छलफल गरेका छन् ।
भारतमा कोरोनाको संक्रमण बढेपछि सीमा जोडिएका सवै प्रदेश २ का विभिन्न स्थानहरुमा सतर्कता अपनाउन र कोरोनाको तेस्रो लहर चलेसँगै त्यसका लागि आवश्यक तयारी गर्न सबै निकायलाई मुख्यमन्त्री राउतले निर्देशन दिए ।

कोभिड १९ कै अलग प्रजाति ओमिक्रोन भेरियन्ट झन संक्रामक रहेकोले पनि त्यससँगको लडाइँमा स्वास्थ्यकर्मी, आमजनतालाई बलियो रुपमा लाग्नुपर्ने मुख्यमन्त्रीले बताए । पहिलो र दोस्रो लहरको संक्रमणका बेला प्रदेश देखिएको शय्या र अक्सिजनको समस्या अब हुन नदिने गरि तयारी गर्न उनले निर्देशन दिए । प्रदेशभरिमा पाँच जिल्लाका अस्पतालमा अक्सिजन प्लान्ट जडान भइसकेको र बारा, रौतहट र सर्लाहीमा पनि अक्सिजन प्लान्ट जडानको प्रक्रिया प्रदेश सरकारले बढाइसकेको उनले बताए ।

त्यसैगरि, प्रदेशमा १५ वटा अस्पतालमा ३४६ आइसोलेसन शय्या, १९२ एडीयू शय्या, ९१ आइसीयु शय्या, ६३ भेन्टिलेटर छन् भने एक हजार ९६५ अक्सिजन सिलिन्डर मौज्दात रहेको प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको छ ।

यस्तै, प्रदेशभरि १२ वटा पीसीआर परीक्षण मेसिनबाट कोभिड –१९ जाँच हुँदै आएको जनाएको छ । मंसिरको अन्तिम सतासम्म स्थिर देखिएको कोरोना भाइरस संक्रमणको ग्राफ पुस सुरु हुँदै प्रदेश २ मा बढ्दै गएको छ । बिहीबार मात्रै प्रदेश २ का आठवटै जिल्ला गरेर ११२ जना कोरोना संक्रमित पाइएको छ ।

यसअघिका कोरोना भाइरससंक्रमणबाट प्रदेश २ मा एक हजार ४० जनाले ज्यान गुमाइसकेका छन् भने ३७ हजार ७०६ जना निको भएर घर फर्किसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । संघीय सरकारले पुस मसान्तभित्रमा ६६ प्रतिशत नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने लक्ष्य लिएकामा पुस मसान्त भइसक्दा पनि प्रदेश २ मा त्यो अझै ४० प्रतिशतले मात्र खोप लगाउन सकेको छ ।