आगामी ३ दिनसम्म मौसम सुधार नहुने

काठमाडौं । आगामी ३ दिनसम्म मौसममा उल्लेख्य सुधार नआउने मौसमविदले बताएका छन् । अरब सागरबाट आएको पश्चिमी वायुको प्रभावका कारण आकाशमा बादल लागेको छ भने देशका केही स्थानहरुमा बर्षा भइरहेको छ । खासगरी मुख्य रुपमा पश्चिमी वायुको बढी सक्रियता रहेको छ भने जम्बु काश्मिरमा उत्पन्न भएको वायुको पनि नेपालमा प्रभाव परेको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेका कारण सुदूरपश्चिम, कर्णाली र मधेसका प्रदेशका विभिन्न भागमा सामान्य देखि पूर्णरुपमा बदली रहेको छ । बाँकी प्रदेशका विभिन्न भागमा सामान्य बदली रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका केही स्थानमा हल्का वर्षा समेत भइरहेको जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

अरब सागरबाट र जम्बु काश्मिरबाट आएको वायुको प्रभाव रहेको वरिष्ठ मौसमविद् बरुण पौडेलले रातोपाटीलाई जानकारी दिए । दुई तीन दिनदेखि राम्रोसँग जमिन तात्न नपाएका कारण काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम र अधिकतम तापक्रमको तह नमिलेको उनले बताए ।

यतिबेला औषतमा १३ डिग्री सेल्सियस अधिकतम तापक्रम रहेको र न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशका उच्च पहाडी भागहरुमा हल्का बर्षा र हिमपात भइरहेकोले चिसो बढेको उनको भनाई छ । तराईका क्षेत्रहरुमा दुईदिन देखि हुस्सु कुहिरो लाग्ने अवस्थामा कमी आएको वरिष्ठ मौसमविद् पौडेलले जानकारी दिए ।

अघिल्लो वर्षभन्दा यो वर्षको हिउँदमा पानी पार्ने प्रणालीहरू धेरै सक्रिय भएको उनको भनाई छ । अझै केही दिन मौसम सफा नहुने, लगातार झरी पर्ने अवस्था नभएपनि कतै हल्काफुल्का झरी पर्ने र धुम्म बादल लाग्ने अवस्था हुने उनले बताए ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमानको अवस्था

आज देशभरको मौसम सामान्यदेखि पूर्ण बादल लागेको अवस्था छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा र गण्डकी, बागमती र प्रदेश न १ का उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात भइरहेको जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

आज राती पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ मौसम पूर्वानुमान शाखाले जनाएको छ । अन्य बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

भोलि दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्यतया बदलीको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

माघ ११ गते मंगलबार देशका पहाडी भागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भागमा आंशिक बदली रहने अनुमान छ । देशको पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन पनि जल तथा मौसम पूर्वानुमान शाखाले आग्रह गरेको छ ।