नेपालमा ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पुष्टि

Omicron Varientकाठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमित मध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पाइएको छ । विश्वप्यापी रुपमा डेल्टा भेरियन्टको संक्रमणलाई ओमिक्रोन भेरियन्टले प्रतिस्थापन गरेजस्तै नेपालमा समेत सोही अवस्था देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा।समीर कुमार अधिकारीले आइतबारको नियमित प्रेस ब्रिफिङमा बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पछिल्लो समय देशभरबाट संकलित ३२ नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ । बाँकी ४ वटा नमुनामा डेल्टा भेरियन्ट पुष्टि भएको मन्त्रालयको भनाइ छ ।

‘नेपालमा भइरहेको पछिल्लो संक्रमणमा एस–जीन पोजेटिभ भएपनि ८८ प्रतिशत ओमिक्रोन भेरियन्ट रहेको पाइएको छ’, अधिकारीले भने।

स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ४३७ वटा नमुना परीक्षणमा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि शनिबार २० हजार १८७ जनामा परीक्षण गर्दा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको थियो ।

यस्तै पछिल्लो २४ घण्टामा १४१६ जना संक्रमणमुक्त भएका छन् भने सोही अवधिमा ४ जनाले ज्यान गुमाएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमित ७७ हजार ४० पुगेका छन् ।