आईपीएलको ‘मेगा अक्सन’मा पर्ने १५ नेपाली खेलाडी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को सन् २०२२ को संस्करणका लागि हुने ‘मेगा अक्सन’मा नेपालका कप्तान सन्दीप लामिछानेसहित १५ खेलाडी रजिष्ट्रेसन भएका छन् ।

नेपालबाट रजिष्ट्रेसन हुनेमा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, कुशल मल्ल, शरद भेषावकर, विनोद भण्डारी, अविनाश बोहरा, आरिफ शेख, सुशन भारी, रोहित पौडेल, कुशल भुर्तेल, सन्दीप जोरा, पवन सर्राफ र आसिफ शेख छन् ।

सन्दीपले यसअघि दिल्ली क्यापिटल्सबाट आईपीएल खेलिसकेका छन् । एसोसिएट राष्ट्रबाट ४१ खेलाडी मेगा अक्सनका लागि रजिष्ट्रेसन भएका छन् । अक्सनका लागि एक हजार २१४ खेलाडीले रजिष्ट्रेसन गरेको आईपीएफले जनाएको छ ।

बैंगलोरमा आउँदो फेब्रुअरी १२ र १३ तारिखमा हुने मेगा अक्सनमा १० टोलीले बोली लगाउनेछन् । भारतका ८९६ र विदेशका ३१८ खेलाडी रजिष्ट्रेसन भएका छन् ।

रजिष्ट्रेन गर्नेमा अफगानिस्ताका २०, अष्ट्रेलियाका ५९, बंगलादेशका नौ, इंग्ल्यान्डका ३०, आयरल्यान्डका तीन, न्युजिल्यान्डका २९, दक्षिण अफ्रिकाका ४८, श्रीलंकाका ३६, वेस्ट इन्डिजका ४१, जिम्बाब्वेका दुई, भुटानका एक, नामिबियाका पाँच, नेपालका १५, ओमानका तीन, अमेरिकाका १४ तथा नेदरल्यान्ड्स, स्कटल्यान्ड र अमेरिकाका एक÷एकजना छन् ।

एउटा फ्रेन्चाइज टोलीले बढीमा २५ खेलाडी अनुबन्ध गर्न पाउनेछ । त्यसमध्ये १० टोलीले ३३ खोलडी ‘रिटेन’ गरेका छन् । त्यसकारण अब अक्सनमा २१७ खेलाडी फ्रेन्चाइज टोलीले अनुबन्ध गर्नेछन् ।

चेन्नई सुपर किंग्सले रवीन्द्र जडेजा, महेन्द्रसिंह धोनी, मोइन अली र रितुराज गाइकवाडलाई रिटेन गरेको छ । दिल्ली क्यापिटल्सले रिशभ पन्त, अक्सर पटेल, पृथ्वी शा र एनरिच नोर्टजेलाई रिटेन गरेको छ । कोलकाता नाइट राइडर्सले आन्द्रे रसेल, वरुण चक्रवर्ती, बेनकटेशह ऐयर र सुनील नारिनलाई रिटेन गरेको छ ।

मुम्बई इन्डियन्सले रोहित शर्मा, जसप्रित बुमराह, सूर्यकुमार यादव र किरोन पोलार्डलाई रिटेन गरेको छ ।

पञ्जाब किंग्सले मयांक अग्रवाल र अर्शदीप सिंहलाई रिटेन गरेको छ ।

त्यस्तै, राजस्थान रोयल्सले सञ्जु सामसन, जोस बट्लर र यशस्भी जैशवाललाई रिटेन गरेको छ ।

रोयल च्यालेन्जर्स बैंगलोरले विराट कोहली, ग्लेन म्याक्सवेल, मोहम्मद सिराजलाई रिटेन गरेको छ ।

सनराइजर्स हैदरावादले केन विलियम्सन, अब्दुल सामद र उमरान मलिकलाई रिटेन गरेको छ ।

नयाँ टिम अहमदावादले हार्दिक पाण्डेय, राशिद खान र शुबमन गिललाई भित्र्याएको छ ।