भोलि हुने राष्ट्रियसभा निर्वाचनको तयारी पूरा

काठमाडौं । राष्ट्रिय सभाको १९ सदस्य चयनका लागि भोलि हुने मतदानको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी जम्मा १९ पदका लागि निर्वाचन हुन लागेको हो ।

आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार मतदान भोलि बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म हुनेछ । सात प्रदेशका आठ मतदान स्थलमा १४ मतदान केन्द्रमार्फत् मतदान गराइनेछ । जसअनुसार प्रदेश १ मा दुई र अरु प्रदेशमा एक वटा मतदान स्थल छन् ।

प्रदेश १ मा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय विराटनगर तथा प्रदेश सभा सदस्यका लागि बाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदान स्थल तोकिएको छ ।

मधेश प्रदेशका लागि महेन्द्रनारायण निधि भवन, बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरामा मतदान हुनेछ ।

लुम्बिनी प्रदेशको लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन धनगढीमा मतदानस्थल तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

फागुन २० बाट नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका ३ राष्ट्रिय सभा सदस्यको पदावधि सकिँदैछ ।

सदस्यको पदावधि सकिनु ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने व्यवस्थाअनुसार मतदान हुन लागेको हो । मतदानमार्फत् ७ महिला, ३ दलित, २ अपांगता भएका तथा अल्पसंख्यक र ७ अन्य समूह गरी १९ जना चुनिने छन् ।

आगामी फागुन २० गतेबाट रिक्त हुन लागेको १९ सिटका लागि ४३ जना चुनावी मैदानमा रहेका छन् ।