राष्ट्रिय सभा सदस्यमा कहाँबाट कसले जीते ?

काठमाडौं । राष्ट्रियसभा सदस्य पदका लागि कर्णाली प्रदेशमा भएको निर्वाचनमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट माओवादीका माओवादीका नरबहादुर विष्ट, काँग्रेसकी दुर्गाकुमारी गुरुङ, र एकीकृत समाजवादीका उदय बोहोरा निर्वाचित बनेका हुन् ।

निर्वाचित बनेका विष्टले तीन हजार ६, गुरुङले २ हजार ९७० र बोहोराले प्रदेश सभाका २१ र स्थानीय तहका १११ सहित ३००६ मतभार प्राप्त गरेका छन् । यस्तै पराजित बनेका एमालेका गंगा थापा महतले १ एक हजार ४१६ पदमबहादुर माझीले १ हजार ३९८ र चूडामणि शर्मा १४ १६.ले मत मात्र प्राप्त गरे ।

त्यस्तै बागमती प्रदेशको राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन दलका संयुक्त उम्मेदवार (महिला)मा गोमादेवी तिमल्सिना र (अन्य)मा गठबन्धन दलकै कृष्ण प्रसाद पौडेल विजयी भएका छन् । तिमल्सिना नेकपा एकीकृत समाजवादी पार्टी र पौडेल कांग्रेसका उम्मेदवार हुन्।

तिमल्सिना र पौडेल क्रमश ४ सय ६३ र ४५० मतभारले विजयी भएका हुन् । महिला सदस्यमा तिमल्सिनाले ४ हजार ८ सय २४ मतभार प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिष्पर्धा नेकपा एमालेकी उम्मेदवार निरुकुमारी कुँवरले ४ हजार ३ सय ६२ मतभार प्राप्त गरेका छन् ।

उता राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश १ मा महिलातर्फ जयन्ती राई विजयी भएकी छिन् । नेकपा एकीकृत समाजवादीकी राई चार हजार ६ सय ९२ मत ल्याउँदै विजयी बनेकी हुन् ।

निर्वाचन अधिकृत भरत लम्सालका अनुसार एमालेकी सुमित्रा भण्डारीले चार हजार तीन सय ६२ मत ल्याएकी छिन भने राप्रपाकी रन्जु प्याकुरेलले एक सय २० मत प्राप्त गरेकी छिन् । त्यस्तै गठबन्धनबाट जनता समाजवादी पार्टीका उम्मेदवार हेमराज राईलाई हराउँदै एमाले उम्मेदवार सोनम ग्याल्जेन शेर्पा विजयी भएका हुन् । गठबन्धनकै उम्मेदवारको अन्तर्घातका कारण राईले पराजय बेहोर्नुपरेको बताइएको छ । राई जसपाको तर्फबाट गठबन्धनका उम्मेदवार थिए । शेर्पाले ४७५२ मतभार पाए भने राईले ४ हजार ३६८ मतभार पाए ।

त्यस्तै राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट गरिमा शाह विजयी भएकी छन् । शाह नेकपा (एकीकृत समाजवादी) पार्टीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज समेत हुन् । शाह प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १९६२ मतभार पाएर निर्वाचित भएकी हुन् ।

त्यसैगरी लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सत्तारूढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार गठबन्धनका उम्मेदवारले ४ हजार ३७४ मतभार पाएका छन् भने नेकपा एमालेका उम्मेदवारको पक्षमा ३ हजार ३१२ मतभार पुगेको छ ।

निर्वाचनमा राजेन्द्रलक्ष्मी गैरे (एकीकृत समाजवादी), कुलप्रसाद विश्वकर्मा (राष्ट्रिय जनमोर्चा) र युवराज शर्मा (कांग्रेस) का उम्मेदवार विजयी भएका हुन् । तीन जना राष्ट्रिय सभा सदस्य छान्न ८१ प्रदेश सभा सदस्य र २१३ स्थानीय तहका मतदाताले भोट खसालेका थिए । राष्ट्रिय सभा सदस्यका लागि सत्तारूढ गठबन्धनले साझा उम्मेदवार बनाएको थियो ।