पाँच दलीय गठबन्धनले देशलाई संकटतर्फ धकेल्यो, सरकार बकवास गरिरहेको छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले देशलाई संकटतर्फ धकेलेको आरोप लगाएका छन् । बुधबार पार्टी केन्द्रीय सचिवालयको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारलाई देशको चिन्ता नभएकाले देशलाई संकटग्रस्त बनाएको बताएका हुन् ।

उनले भने, ‘यो पाँच दलीय गठबन्धनले देशलाई ओरालो लगाएको छ अहिले । विनाशतर्फ धकेलेको छ । आर्थिक अराजकता, अनियमितता र बेथितितर्फ धकेलेको छ ।’ जनताप्रति सरकार र गठबन्धन अनुत्तरदायी बन्दै शिक्षा, स्वास्थ्य र आर्थिक अवस्था समेत डामाडोल बनाएको ओलीको भनाइ छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमा स्थानीय निर्वाचन गर्नैपर्ने बताएका छन् । बुधबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन सरकारको स्वेच्छाको विषय हुन नसक्ने भएकाले उक्त मितिमा चुनाव गर्नुपर्ने बाध्यता रहेको बताएका हुन् ।

उनले सरकारमा रहेका पार्टी र तिनका नेताहरुले ७९ चैत्रमा निर्वाचन गर्छौ भन्ने खालका बकवास गरिरहेको आरोप लगाए । साथै ओलीले २४ लाख खोप हराउनु सानो कुरा नभएको भन्दै कठिन ढंगले प्राप्त गरेको उक्त खोप हरायो भन्नु हास्यास्पद र गम्भिर रहेको बताए । ‘यस्ता कुरामा अन्य देशमा हेर्ने हो भने मन्त्रीहरुले राजीनामा गर्नुपर्छ ।’