तीन जना सन्तान जन्माउने दम्पत्तिलाई चीनमा यस्ता छन् अफरहरु

काठमाडौं । अत्याधिक रुपमा जनसंख्या वृद्धिको कारण विश्वब्यापी रुपमा मूल्यबृद्धि भईरहेको परिस्थितिमा चीनमा आर्थिक एवं समाजिक रुपमा असहज परिस्थिति बनेपछि चीन सरकारले एक सन्तान नीतिलाई अंगीकार गर्यो । चीन सरकार यति कडा रुपमा उत्रियो की यदि कसैले एक भन्दा बढी सन्तान उत्पान गरेमा ती दम्पत्तिलाई कारवाही नै गर्ने नीति बनायो र कारवाही पनि गर्यो । सन् १९८० मा डेङ सियाओपिङ, चेन युन र ली सियानियन लगायतका राजनीतिज्ञहरूको समूहले चीनमा दम्पतिले एक सन्तान मात्र जन्माउन पाउने कानुन बनायो । तर, गाउँमा बस्ने दम्पतिले पहिलो सन्तान छोरी भएमा दोस्रो सन्तान जन्माउन पाउने गरी सन् १९८० कै मध्यतिर कानुन संशोधन गरिएको थियो । यसरी जातीय अल्पसंख्यकहरू सहित केही अन्य समूहहरूलाई पनि २ सन्तानको अनुमति दिएको थियो । तर यो नीतिले ३५ वर्षभित्रै गम्भीर रुपले जनसंख्याको तथ्यांकमा परिवर्तन ल्याएको र घट्दो जनसंख्या समस्यालाई समायोजन गर्न भन्दै फेरि चीन सरकारले सन् २०१५ मा सवै दम्पतिलाई २ वटा सन्तान जन्माउन सक्ने गरी नयाँ कानुन जारी गर्यो ।

२ सन्तान जन्माउन पाउने कानुन आएपनि तत्पश्चात चीनमा उल्लेख्य रुपमा जनसंख्या बढेन र त्यहाँका नीतिगत निर्णय गर्नेहरुलाई यो टाउको दुखाईको विषय बन्दै गयो । चीनमा जन्मदर निरन्तर घटेको समाचार निरन्तर रुपमा आउन थालेपछि चीन सरकारले यहाँका सबै दम्पत्तिलाई दुई सन्तान जन्माउने अनुमति दिइएको नीतिलाई व्यपक रुपमा प्रचार गर्न थाल्यो । तर, यसबाट पनि परिणाम उति उत्साहपूर्ण आएन । चीनको राष्ट्रिय तथ्याङ्क विभागले दिएको जानकारी अनुसार चीनमा गत वर्ष जम्मा १ करोड ७२ लाख बच्चा जन्मिएका छन् । तर त्यसको अघिल्लो वर्ष अर्थात् सन् २०१६ मा भने १ करोड ७९ लाख बच्चा जन्मिएका थिए । २ सन्तानको नीतिलाई चीनले व्यपकता दिएपनि चीनका विभिन्न अनुसन्धानकर्ताहरु, नीति निमार्ताहरु र त्यहाँका राष्ट्रिय तथ्यांक विभागका अधिकारीहरुका अनुसार चीनीयाँ दम्पतिहरु महंगीको कारण अब सानो परिवारमा नै रमाउने र खुसी हुने गरेकाले थप सन्तान नजन्माउने गरेको पाए । २ सन्तानको नीति अख्तियार गर्ने बेलामा सन् २०१५ मा चीन सरकारले चीनमा अब धेरै बच्चा जन्मिन सक्ने र यसले देशको जनसङ्ख्या बढ्ने अनुमान गरेको थियो । तर, त्यसो नभएपछि त्यहाँका अधिकारीहरुले यसका कारणहरुको खोजी गर्न थाले । विशेषगरी यहाँका दम्पत्तिमा सानो परिवारको चाह बढ्दो रुपमा रहेको, महङ्गी आदि कारणले गर्दा थोरैमात्र बच्चा जन्माउने चाहना देखिएको पाइएको धेरै नीति निर्माताहरुको अनुभवबाट निश्कर्ष आएपछि फेरि चीन यतिबेला ३ सन्तानको नीतिलाई ब्यापक रुपमा प्रचारमा उत्रिएको छ ।

तीव्र रुपमा घटिरहेको जनसंख्या वृद्धिदर र बुढो भैरहेको नजसंख्याको रफ्तार रोक्नका लागि चीन सरकारले नागरिकहरुलाई बिहे गर्न र तीनवटा बच्चा जन्माउनका लागि विभिन्न खाले अफर दिन थालेको छ । टाइम्स अफ इजरायलमा प्रकाशित एक ब्लगमा राजनीतिक तथा विदेश मामलिा केन्द्रका अध्यक्ष फाबियन बोसार्टले बताएका छन् कि चीनले प्रोत्साहनका रुपमा बेबी बोनस, लामो तलबी विदा, करमा कटौती तथा बच्चाको पालन पोषण गर्नका लागि अनुदान दिने घोषणा गरेको छ । चिनियाँ अधिकारीहरू दम्पतीहरूलाई तेश्रो बच्चा जन्माउन प्रेरित गर्नका लागि संगठन तथा स्थानीय प्रशासनका माध्यमबाट विभिन्न खाने लोभ्याउने अफर पनि अगाडि सारिरहेका छन् । बेइजिङ डबिनंग टेक्नोलोजी ग्रुपले आफ्नो कर्मचारीहरुलाई ९० हजार युआनसम्म नगद, १२ महिनाको प्रसुति विदा र ९ दिनको सुत्केरी स्याहार बिदालगायतका विभिन्न सुविधा घोषणा गरेको छ । त्यस्तै अनलाइन ट्राभल कम्पनी त्चष्उ।अयm ले पनि विभिन्न खाले अतिरिक्त लाभ दिने घोषणा गरेको छ । गत अगष्टमा चीनले जनसंख्या एवम् परिवार नियोजन कानून पारित गरेसँगै चीनका २० भन्दा धेरै प्रान्तीयस्तरका क्षेत्रहरूले आफ्नो स्थानीय शिशु नियमहरुमा संशोधन गरे । चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार बेइजिङ, शिचुआन तथा जियाङ्सीलगायतका विभिन्न क्षेत्रमा यसै सिलसिलामा विभिन्न सहायक उपायहरुको पनि घोषणा गरियो जसमा पितृत्व अवकाश, मातृत्व अवकाश तथा विवाहका लागि छुट्टीको अवधि बढाउने लगायतका छन् ।

 

चीनको जनसंख्या अघिल्लो वर्षको अन्त्य सम्ममा एक अर्ब ४१ करोड २६ लाख पुगेको छ । यस अनुसार चीनमा एक वर्षमा केवल पाँच लाखभन्दा पनि कम जनसंख्या बढेको छ र लगातार पाँचौँ वर्ष पनि जनसंख्या वृद्धिदर घटेको छ । यो आँक्डाले विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देशमाथि मडारिइरहेको जनसांख्यिक खतरा र त्यसले उत्पन्न गर्ने आर्थिक खतरालाई लिएर भय पैदा गर्दछ । राष्ट्रिय जनसांख्यिक ब्यूरोका अनुसार चीनको मूख्य भूभागको जनसंख्या सन् २०२० मा करीब १ अर्ब ४१ करोड २० लाखबाट बढेर २०२१ को अन्तसम्ममा १ अर्ब ४१ करोड २६ लाख पुगेको छ । ब्युरोका अनुसार सन् २०२० पछि एक वर्षमा चीनको जनसंख्या मात्रै ४ लाख ८० हजारले बढेको छ । सन् २०२१ मा १ करोड ६ लाख बच्चा जन्मिएका छन् जबकि सन् २०२० मा १ करोड २० लाख बच्चा जन्मिएका थिए । सिन्ह्वाको रिपोर्ट अनुसार यो तथ्यांकमा हङकङ तथा मकाउ निवासी तथा मूख्य भूमिका ३१ प्रान्त, स्वायत्त क्षेत्र तथा नगरपालिकाहरुमा रहने विदेशीहरू सामेल छैनन् । ब्युरोका अनुसार सन् २०२१ मा चीनमा नवजात शिशुको संख्या एक करोड ६ लाख २० हजार थियो भने जन्मदर ७.५२ प्रतिहजार रह्यो । अघिल्लो वर्ष चीनको राष्ट्रिय मृत्युदर चाहिँ ७.१८ प्रतिहजार थियो । जन्मदरमा मृत्युदर घटाउँदा जनसंख्या वृद्धिदर केवल ०.३४ प्रतिशत कायम रहेको छ । विभिन्न एजेन्सीहरुको सहयोगमा तयार पारिएको रिपोर्ट