धरापमा गठबन्धन : एमाले र कांग्रेसको गठजोड बन्दै

काठमाडौं । विवादित अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का कारण सत्तारुढ पाँच दलीय गठबन्धन धरापमा परेको छ । सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसले एमसीसी पारित गर्न टेबुल गर्ने निर्णय गरि सकेर अन्य गठबन्धन दलले असहयोग गर्दा ब्याक हुनुपरेपछि गठबन्धन धरापमा परेको हो । कांग्रेस नेतृत्वको सरकारमा अहिले माओवादी केन्द्र, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चा सरकारमा छन् । तर, कांग्रेसबाहेक एमसीसीको विषयमा एक मत छैनन् ।

उता नेकपा एमालेले सभामुख अग्नीप्रसाद सापकोटालाई हटाएमा एमसीसीमा सघाउने सार्वजनिक गरिसकेको छ । एमसीसी पास गर्नुपर्ने दबाबमा रहेका प्रधानमन्त्री देउवाले एमसीसी पास गराउनका लागि अब गठबन्धन भतकाएर भएपनि एमालेसँग मिलेर पास गराउने मनसायमा रहेको स्रोतले बताएको छ । आज नै कांग्रेसका केही नेता र एमालेका पदाधिकारीबीच छलफलसमेत चलेको बताइएको छ ।

नेपाली कांग्रेसले संसदीय दलको बैठकबाट एमसीसी पारित गर्ने निर्णय गरिसकेको छ । माओवादी केन्द्रले एमसीसी टेबल भए सरकारमा नरहने निर्णय गरिसकेको छ । यता एकीकृत समाजवादी पार्टीले पनि संशोधन विना एमसीसी पारित गर्न नसकिने बताउँदै आएको छ ।

गठबन्धनमा रहेको जनमोर्चा एमसीसीको विपक्षमा छ भने जसपामा तीब्र विवाद देखिएको छ । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई र बहुमत सांसदहरूको एमसीसीको पक्षमा छन् । तर, उपेन्द्र यादव भने अहिलेसम्म खुलेका छैनन् ।