हुम्लामा भाइरल ज्वरोका बिरामी बढे

हुम्ला। हुम्लाको दक्षिण भेगमा यतिबेला भाइरल ज्वरोका बिरामीको सङ्ख्या उच्च रहेको छ । दक्षिण भेगसहित जिल्लाभर ज्वरोका बिरामीको सङ्ख्या दिनप्रति दिन बढ्दै गएको छ ।

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमण देशभरि फैलिनुभन्दा केही महिनायता उक्त बिरामीको सङ्ख्यामा वृद्धि हुन थालेको स्वास्थ्यकर्मीले बताएका छन् । माघ महिना सकिएर फागुन लागेयता यस क्षेत्रमा बिरामीको सङ्ख्यामा वृद्धि भएको हो । भाइरल ज्वरोका बिरामीको सङ्ख्यामा वृद्धि भएपछि जिल्लाभरका स्वास्थ्यचौकीमा उपचार गर्न जाने बिरामीको घुइँचो लाग्ने गरेको छ ।

एक हप्ताको अवधिमा अदानचुली गाउँपालिकाको श्रीनगर स्वास्थ्यचौकीमा १६७ जना भाइरल ज्वरोका बिरामी उपचारमा आएको स्वास्थ्यचौकीका अहेब अशोक महताराले बताउनुभयो । माघ महिनाको अन्तिमदेखि यस क्षेत्रमा बिरामीको सङ्ख्या उच्च रहेको छ भने छोटो समयमै चार सयभन्दा बढी ज्वरोका बिरामी उपचारमा आएको अहेब महताराले बताउनुभयो ।

कोरोनासँगै मिल्दोजुल्दो लक्षण भए पनि कोरोना परीक्षण गर्ने किट अभावका कारण जाँच गर्न समस्या भएको बताइएको छ । देशभरि कोभिड–१९ शिथिल बन्न लागे पनि हुम्लामा उक्त भाइरससँग मिल्दो लक्षणका बिरामीको सङ्ख्या बढ्न थालेको हो । हुम्लाको अदानचुलीमा मात्र नभई अन्य गाउँपालिकामा पनि यो बिमारीको सङ्ख्यामा वृद्धि हुन थालेको स्वास्थ्यकर्मीले बताएका छन् ।