सेयर बजारमा ५९ अंकको पहिरो, राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँट

काठमाडौं । सेयर बजार साताको अन्तिम कारोबारको दिन बिहीबार पनि घटेको छ । नेप्से परिसूचक ५८ दशमलव ९९ अंकले घटेर २ हजार ६ सय ६१ दशमलव ४४ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १० दशमलव ३६ अंकले घटेको छ ।

दिनभर भएका ६५ हजार ११ कारोबारबाट २२९ कम्पनीका ८४ लाख ९० हजार ६८९ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार १९२ रुपैयाँ पुगेको छ ।

त्यस्तै राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँट भएको छ । बिहीबार गरिएको बाँडफाँटमा योग्य आवेदकहरु २५ लाख ७९ हजार ४०२ मध्ये गोलाप्रथाबाट ७९ हजार ४५० जना भाग्यमानी आवेदकले मात्रै १० कित्ताको दरले सेयर हात पारेका छन् । यस संस्थाको आईपीओमा २५ लाख ८५ हजार २६१ जनाले २ अर्ब ९४ करोड ६७ लाख २१ हजार रुपैयाँ बराबरको २ करोड ९४ लाख ६७ हजार २१० कित्ता सेयरको लागि आवेदन दिएका थिए । ५ हजार ८५९ जनाको आवेदन भने रद्द भएको थियो ।