३५ सय रुसी सेनाको मृत्यु भएको युक्रेनी दाबी, सडकमै राष्ट्रपति जेलेन्स्की

काठमाडौं । युक्रेनको सेनाले अहिलेसम्म रुसका ३५ सयभन्दा बढी सेनाको मृत्यु भइसकेको दाबी गरेको छ । सैन्य क्षतिबारे फेसबुकमा प्रकाशित विवरणमा अहिलेसम्म युक्रेन आक्रमणमा सम्मिलित ३५ सय भन्दा बढी रुसी सैनिकको मृत्यु भएको र झन्डै २०० जनालाई बन्दी बनाइएको दाबी गरिएको छ । युक्रेनी सेनाको दाबीअनुसार रुसले आफ्ना १४ वटा विमान र १ सय २ वटा ट्याङ्क पनि गुमाएको छ बीबीसीले जनाएको छ । रुसले आफ्नोतर्फ भएको मानवीय क्षतिको भने कुनै विवरण सार्वजनिक गरेको छैन । यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग आत्मसमर्पण गर्न आह्वान गरेको भन्ने अफवाहको खण्डन गरेका छन् ।

अफवाहलाई निस्तेज पार्न उनी आफैँ राजधानी कीभको सडकमा पुगेर भिडिओ खिच्दै ट्विटरमा प्रेषित गरेका छन् ।

उता रुसले युक्रेनलाई समर्थन गर्ने देशहरूलाई आणविक हतियार प्रयोग गर्ने चेतावनी दिएको छ । युक्रेन मामिलामा आफ्नो बाटोमा अवरोध खडा भए उसको विकल्पको रूपमा आणविक हतियार प्रयोग गर्नबाट पछि नहट्ने रुसले चेतावनी दिएको हो । रुसले दिएको चेतावनीमा नाम नलिए पनि अमेरिकाप्रति संकेत गरेको देखिन्छ । यसैबीच, युक्रेनको राजधानी किभमा भिषण लडाई जारी छ ।