ग्लुमी सन्डे

ग्लुमी सन्डे
प्रेम वियोगमा आधारित एउटा गीत, जसको कारण संसारका धेरै मानिसले आत्महत्या गरे ।

सन् १९३२ डिसेम्बरको एक आइतबारका दिन धुम्म आकाश र कालो बादलले ढाक्दा मौसम उदास थियो । प्रेमिकासँग भर्खरै ब्रेकअपपछि निराश भएका हंगेरियन कम्पोजर रेज्सो सेरेशलेले एउटा गीत कम्पोज गरे ‘ग्लुमी सन्डे’ । अमेरिकाको पेन्सलभेनियामा सन् १९१५ मा जन्मिएकी गायिका एवं लेखिका बिल्ली होलिडेले १४ वर्षकै उमेरमा अंग्रेजीमा लेखेकी ‘ग्लुमी सन्डे’ गीत सम्भवतः अहिलेसम्मकै सबैभन्दा निराश गीत मानिन्छ । भनिन्छ, २०औं शताब्दीमा आत्महत्याको दर बढाउन यो गीतले निकै ठूलो भूमिका खेलेको थियो । ग्लुमी सन्डे गीतलाई ‘हंगेरियन सुसाइड सङ’को उपमा समेत दिइएको थियो ।
संसारमा धेरै ‘स्याड सङ’ छन् । केही गीतले तपाईंलाई भावुक बनाउँछ, रुवाउँछ । यस्ता गीत पनि छन्, जसले तपाईंलाई ‘रोमान्टिक’ बनाउँछ । गीत अरु पनि छन्, तपाईंलाई सुन्नेबित्तिकै नाच्न मन लाग्छ । थोरै गीत छन्, जसले तपाईंलाई आत्महत्या गर्न प्रेरित गर्छ । ‘ग्लुमी सन्डे’ थोरै त्यस्ता गीतमध्ये एक हो जसका कारण धेरैले आत्महत्या गरेका छन् ।
१९३६ मा एक चर्मकार जोसेफ केलरले हंगेरीको बुडापेस्ट सहरमा आत्महत्या गरे । उनको आत्महत्यामाथि अनुसन्धान गर्ने क्रममा पुलिसले उनको सुसाइड नोट भेट्टायो । त्यसमा ग्लुमी सन्डेका केही हरफ थिए । सन् १९३० मा टाइम्स म्याग्जिन र न्युयोर्क टाइम्स दुवैले ग्लुमी सन्डे र मृत्युको सम्बन्धलाई जोडेर लामो रिपोर्ट तयार पारेका थिए । टाइम्सले त गीतको कारण मृत्यु हुनेको लिस्ट नै तयार पारिदिएको थियो । म्युजिकले मान्छेको दिमाग र भावनालाई प्रभाव पार्न सक्ने हैसियत राख्छ । के एउटा गीत सयौं मान्छेको मृत्युको कारण बन्न सक्छ ? हो, यही एउटा छोटो गीत जसले धेरैलाई मृत्युप्रेमी बनाएको आरोप खेपेको छ । मान्छेले रोजेको आत्महत्यापछाडि ग्लुमी सन्डेलाई दोष दिइन्छ । यसका लागि प्रमाण पनि छन्– मान्छेको सुसाइड नोटमा ग्लुमी सन्डेका शब्दहरू भेटिनु । गीतले मान्छेलाई मृत्युउन्मुख बनाएको भन्दै बीबीसीले सन् २००२ सम्म यो गीत नै बजाएन । त्यस्तै भियनामा, एक टिनेजर युवतीले आत्महत्या गरिन् । उनको हातमा एउटा कागज थियो र त्यसमा ग्लुमी सन्डे गीत लेखिएको थियो । लन्डनमा एक महिलाले पर्खालबाट हामफालेर आत्महत्या गरिन् । आश्चर्य त के थियो भने उनको छेउमा यसै गीत लेखिएको कागजको टुक्रा भेटियो । आश्चर्य त के छ भने स्वयं ग्लुमी सन्डेका कम्पोजर सेरेशले पनि आत्महत्या गरे ।
ग्लुमी सन्डे सुनेर कञ्चटमा गोली ठोकेका, नदीमा बगेका कैयौं उदाहरण छन् । यस गीत पहिलोपटक सन् १९३३ को ‘स्प्रिङ’मा बजाइएको थियो । हंगेरीको राजधानी बुडापेस्टस्थित एक क्याफेमा बसेका अधबैंसेले सेरेशको यो गीत सुन्न रहर गरे । अर्केस्ट्रा सकियो र उनी सीधै घरतिर लागे । आफूले बिलकुल नयाँ र भावनात्मक गीत सुनेर आएको उनले परिवारलाई बताएका थिए । एउटा यस्तो म्युजिक जसलाई दिमागबाट निकाल्नै नसकिने भन्दै उनले तत्काल आफ्नो कञ्चटमा गोली ठोके । यही घटनाको एक हप्तापछि बुडापेस्टमै एक महिलालाई आफ्नै फ्ल्याटमा झुन्डिएको अवस्थामा भेटियो । पुलिसले उनको मृत्युमाथि अनुसन्धान ग¥यो । उनको ओछ्यानमा पुलिसले कागजको एउटा टुक्रा फेला पा¥यो, छोपिएको अवस्थामा । भेटिएको सुसाइड नोटमा लेखिएको थियो, ग्लुमी सन्डे ।
न्युयोर्कमा एक टाइपिस्टले हानिकारक ग्यास सुँघेर आत्महत्या गरिन् । उनको सुसाइड नोटमा भनिएको थियो– मेरो मृत्यु संस्कारमा ग्लुमी सन्डे बजाइदिनु ।
सन् १९३५ तिर हंगेरीका पपगायक पल कार्लमरले ग्लुमी सन्डेमा आवाज दिए । त्यसपछि आत्महत्या गर्नेहरूको सूची लम्बिँदै जान थाल्यो । आत्महत्या गर्नेहरू बढ्दै जानु र प्रत्येकको सुसाइड नोटमा ग्लुमी सन्डेका हरफ भेटिनुले हंगेरियन सरकारलाई गीतको बारेमा सोच्न बाध्य बनायो । त्यसपछि सार्वजनिक स्थलमा ग्लुमी सन्डे बजाउनै प्रतिबन्ध लगाइयोे । अनुसन्धानले के भन्छन् भने हंगेरीमा हरेक वर्ष प्रत्येक एक लाखमा ४६ जनाले आत्महत्या गरे ।
हंगेरीमा चर्चित भएको यो गीत सन् १९४१ मा विली होलिडेले अंग्रेजी ‘भर्सन’ मा गाएपछि ग्लुमी सन्डे विश्वभरि नै चर्चित हुन पुग्यो । त्यसपछि विभिन्न भाषामा यो गीत बज्न सुरु भयो– जापानी, चिनियाँ, स्विडिस आदिआदि ।
अहिलेको विश्वमा मान्छे र म्युजिकलाई छुट्ट्याउन सकिएला ? पक्कै गाह्रो छ । म्युजिकबिनाको जिन्दगी सायदै कल्पना गर्न सकिएला । मनोविद्हरूले भन्ने गरेका छन्, म्युजिकले मान्छेलाई ‘रिल्याक्स’ गराउनुका साथै तनावबाट पनि मुक्त गराउँछ । मनोविज्ञानको यो सिद्धान्त सेरेशको गीत ‘भेगे अ भिलागंक’ (ग्लुमी सन्डे÷द वल्र्ड इज इन्डिङ)मा भने लागू हुँदैन । म्युजिकले मान्छेलाई यतिसम्म निराश बनाउन सक्छ भन्ने उदाहरण सेरेसले प्रमाणित गरिदिए ।
पियानोवादक सेरेसले पियानो बजाउँदै गर्दा एउटा धुन निस्कियो, जसमा प्रेमिका र मौसमको अनौठो संयोग थियो । ‘वाउ, ग्लुमी सन्डे ! यो मेरो नयाँ गीत हुनेछ,’ उनको खुसीको सीमा रहेन । गीतलाई एउटा पुरानो पोस्टकार्डमा लेखे । उनले ३० मिनेटभित्रै गीत तयार पारे । भयानक निराशाजनक त्यो म्युजिक उनलाई खुबै मनप¥यो । आफ्नो सिर्जना उनले कवि साथी जेभोरलाई पनि सुनाए ।
तर, यो गीतलाई बजारमा ल्याउन कुनै पनि सांगीतिक संस्था तयार देखिएनन्। गीत अत्यधिक निराश भएकाले यसले श्रोतालाई भावनात्मक चोट पु¥याउने संगीत कम्पनीका मालिकको बुझाइ थियो । केही कम्पनीले नमान्दैमा गीतै रेकर्डिङ हुन किन छाड्थ्यो र ! आखिर, बजारमा ‘ग्लुमी सन्डे’ घन्किन थाल्यो।
यो गीत सुरुमा ‘भेगे अ भिलागनाक’ (द इन्ड अफ द वल्र्ड) नाममा हेगेंरियन भाषामा रिलिज गरिएको थियो । पछि फेरि ‘जोमोरु भाषार्नाप’ (ग्लुमी सन्डे) नामबाट बजारमा बजारमा ल्याइयो । ग्लुमी सन्डे गीतमा प्रेमिका प्रतिको अगाध प्रेम छल्किन्छ । गीतको शब्द र म्युजिक नै यति भावनात्मक भइदियो कि धेरैलाई यो गीतले बेचैन बनाइदियो । बेलायतले त ४० को दशकमा यो गीतलाई ‘ब्यान्ड’ नै गरिदिएको थियो । अमेरिकाले भने संस्थागत रूपमा यो गीत बज्न रोकेन ।

सेरेसले आफ्नो ‘बर्थ डे’ मनाएको केही दिनपछि १३ जनवरी १९६८ मा आत्महत्या गरे । हिउँमा अनुहार गाडिएको अवस्थामा उनको ‘डेथ बडी’ भेटिएको थियो । हंगेरीको बुडापेस्टस्थित आफ्नै अपार्टमेन्टको झ्यालबाट हामफालेर उनले आत्महत्या गरेका थिए । उनको सुसाइड नोटमा भनिएको थियो, ‘आई स्टान्ड इन द मिड्स्ट अफ दिस डेड्ली सक्सेस एज एन अक्युज्ड म्यान । दिस फ्याटल फेम हर्टस् मि, आई क्राइड अल अफ द डिसेपोइनमेन्ट अफ माई हर्ट इन टु दिस सङ, एन्ड इट सिम्स द्याट अदर्स विथ फिलिङ लाइक माइन ह्याभ फाउन्ड लियर वन हर्ट इन इट ।’
उनको ओबिच्युरीमा ‘न्युयोर्क टाइम्स’ले लेखेको छ– ग्लुमी सन्डेले सेरेसलाई सधैं उदास बनाइदियो । किनकि यसभन्दा अर्काे कुनै चर्चित गीत उनले कहिल्यै लेखेनन् । बजारमा ग्लुमी सन्डेले निकै चर्चा कमाइसकेपछि सेरेस पूर्वप्रेमिकासँग सम्बन्ध राख्न चाहन्थे । पूर्वप्रेमिकासँग मिलन हुन्छ कि भन्ने आशा पनि थियो उनमा । उनीहरूले एकअर्कालाई भेटेका पनि थिए । तर, सबै असफल भईदियो । एकदिन उनले यस्तो खबर सुने– पूर्वप्रेमिकाले विष खाएर आत्महत्या गरिन् र उनको छेउमा ग्लुमी सन्डेका शब्द लेखिएको कागजको टुक्रा छ ।
हुन त यस गीतका कारण मान्छेले आत्महत्या गरेका हुन् भन्ने विचारसँग असन्तुष्टि राख्नेहरू पनि छन् । विश्वयुद्ध, आर्थिक मन्दी, सम्बन्धबिच्छेदजस्ता घटनाका कारण मान्छेले मृत्यु रोजको तर्क धेरैले राख्छन् । गीत र आत्महत्याको खास सम्बन्ध छैन । यो हल्ला मात्र हो भन्नेहरूको कमी छैन । तर, सुसाइड नोटमा ग्लुमी सन्डेको पंक्ति भेटिनुले मृत्युको कारण गीत नै हो भन्ने तर्क पनि कम गहकिलो छैन ।
उदास आइतबार
उदास छ आइतबार

अनिँदा छन् मेरा प्रहरहरू

बाँचेको छु म

असंख्य प्यारा छायाहरूसँग

पीडाको कालो बग्गीले

तिमीलाई जहाँ पु¥याएको छ

त्यहाँ साना–साना सेता फूलहरूले

अब ब्युँताउने छैनन् तिमीलाई

देवदूतहरूले तिमीलाई फर्काउनेबारे

सोचेकै छैनन्

तिम्रो साथमा रहन चाहेँ भने म

उनीहरू रिसाउने त छैनन् ?

उदास आइतबार

उदास छ, आइतबार

मैले भोगेका छायाँहरूलाई

मेरो हृदय र मैले

समाप्त गर्ने निधो गरेका छौं

मलाई थाहा छ–

अब छिट्टै नै बालिनेछन् मैनबत्तीहरू

गरिनेछन् प्रार्थनाहरू

तर नरोऊन् कोई

जानुन् तिनले कि

म खुसीसाथ जाँदैछु यो धर्तीबाट

मृत्यु कुनै सपना होइन

म तिमीलाई मृत्युमा

स्पर्श गरिरहेको हुनेछु।

(अंग्रेजी संस्करणको ‘उदास आइतबार’का रचयिता बिल्ली होलिडे हुन्।)
०००
नेपालमा हवाई दुर्घटनाको इतिहास,
प्रस्तुत छ नेपालमा सन् २००६ देखि यता भएका ठूला हवाई दुर्घटनाको सूची

नेपाली आकाशमा पहिलो पटक सन् १९५५ को मार्चमा अन्तर्राष्ट्रिय उडानको कालिंगा एयरको भीटी–एजेटएक्स डीसी–३ जहाज बाराको सिमरामा दुर्घटना भएको थियो । यो नै नेपाली भूमिमा भएको पहिलो जहाज दुर्घटना मानिन्छ । त्यो दुर्घटनामा दुई जनाले ज्यान गुमाएका थिए भने एक जना घाइते भएका थिए । त्यसपछि नेपालमा भएको हवाई दुर्घटनामा ६ अक्टोबर १९७३ मा भएको बताइन्छ । यो दुर्घटनामा कुनै मानवीय क्षति भने भएन । नेपाल बायुसेवा निगमको क्यानडामा निर्मित डि एच सी सिक्स ट्वीनअटर थ्री हन्ण्ड्रेड नाइन नाइन एन एविजी लुक्ला विमनस्थलमा दुर्घटना भएको थियो । मानवीय क्षति नभए पनि चालक दलका तीन र तीन यात्रु घाइते भएका थिए । उक्त विमान क्यानडामा बनेको थियो ।
९ जुन १९९१ मा नेपाल वायु सेवा निगमको जहाज दुर्घटनामा परेको थियो । काठमाडौंबाट लुक्लाका लागि उडानमा रहेको त्यो विमान दुर्घटनामा पर्दा चालक दलका तीन सदस्यसहित १४ जनाको निधन भएको थियो ।
३१ जुलाई, १९९२ मा थाइ एयरलाइन्सको विमान काठमाडौंमा अवतरण गराउने क्रममा पहाडमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा विमानमा सवार ११३ जनाको ज्यान गएको थियो । त्यसपछि २८ सेम्टेम्बर, १९९२ मा थाइ एयरलाइन्स दुर्घटनाको दुई महिना नपुग्दै फेरि नेपाली आकासमा अर्को विमान दुर्घटना भएको थियो । पाकिस्तान एयरलाइन्सको विमान दुर्घटनामा १६७ जनाको ज्यान गएको थियो। ए थ्री हण्ड्रेड एयर बस पहाडमा ठोक्किएर दुर्घटनाग्रस्त हुन पुगेको थियो । नेपाल वायुसेवा निगमको जहाज १७ जनवरी, १९९५ मा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो । काठमाडौंबाट रुम्झाटार जाने क्रममा सो विमान धावन मार्गमा दुर्घटनामा परेको थियो । त्यसैगरी नेकोन एयरको विमान सेप्टेम्बर ५, १९९९ मा पोखराबाट काठमाडौंसम्मको उडानको क्रममा दुर्घटनाम परेको थियो । यो विमानमा चालक दलका सदस्यसहित १५ जनाको ज्यान गएको थियो ।
सन् २००४ २५ मइ महिनामा काठमाडौंबाट लुक्ला जान लागेको यति एयरलाइन्सको डि एच सी सीक्स थ्री हन्ड्रेड नाइन एन एफ डी ट्वीनअटर विमान लुक्ला विमानस्थल नजिक लाम्जुरा पहाडमा ठोकिएर दुर्घटना भएको थियो । यात्रु नरहेको सो विमान दुर्घटनामा चालक दलका तीन सदस्यको मृत्यु भएको थियो ।
१ अक्टोबर, २००४ मा सीता एयरवेजको विमान लुक्ला विमानस्थलमा दुर्घटना भएको थियो । विमानस्थलको धावन मार्ग नै अवरुद्ध हुने गरी भएको यो दुर्घटनामा मानवीय क्षति भने भएन । त्यस्तै गोरखा एयरलाइन्सको विमान सन् जुन ३० तारिखका दिन लुक्ला विमानस्थलमा धावनमार्गमा धसिएर दुर्घटनाग्रस्त हुँदा चालक दलका तीन र नौ जना यात्रु घाइते हुन पुगेका थिए ।
सेप्टेम्बर २००६ – ताप्लेजुङको घुन्सामा श्री एअरको हेलिकप्टर दुर्घटनामा पर्दा २४ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा तत्कालीन वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, संरक्षणविद् डा. हर्क गुरुङ, डा. सीबी गुरुङ, तीर्थमान मास्के पनि थिए।
यती एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा सन् २००८ अक्टोबर ८ मा आगलागी भएर दुर्घटना भएको थियो, दुर्घटनामा ८ जनाको ज्यान गएको थियो भने आठ जनाको सकुशल उद्धार गरिएको थियो ।
सेप्टेम्बर २०१० – हिमालको दृश्यावलोकनका लागि उडेको विमान काठमाण्डू नजिकैको दुर्घटनाग्रस्त भएको थियो । अगस्त २४, २०१० मा अग्नी एयरको विमान मकवानपुरमा दुर्घटनामा परेको थियो यो विमान दुर्घटनामा विमानमा यात्रारत १४ जनाको ज्यान गएको थियो भने तारा एयरको विमान सन् २०१० डिसेम्बर १६ तारिखमा दुर्घटनामा परेको थियो । लामिडाँडाबाट काठमाडौं आउँदै गरेको सो विमान ओखलढुङ्गाको श्रीचौर, मानेडाडाँमा ठोक्किएर दुर्घटनामा परेको थियो । दुर्घटनामा बाइस जना यात्रुको ज्यान गएको थियो ।
सन् २०११ सेप्टेम्बर २५ का दिन ललितपुरको विशंखु नारायणमा बुद्ध एयरको जहाज दुर्घटनामा परेको थियो । दुर्घटनामा विमानमा सवार सबै १९ जना यात्रुकै ज्यान गएको थियो ।
सन् २०१२, सेप्टेम्बर २८ तारिखका दिन सीता एयरको विमान दुर्घटनामा परेको थियो । सो बिमान विमानस्थल नजिकै भक्तपुरको मनोहरामा दुर्घटनाग्रस्त भएको थियो । काठमाडौंबाट सोलुको लुक्लाका लागि उडेको यो विमान मनोहरा किनारमा खस्दा विमानमा रहेका सबै १९ जनाको मृत्यु हुन पुगेको थियो । विमान दुर्घटना भएर आगलागी भएर सबै यात्रुको मृत्यु भएको थियो ।
त्यसैगरी अग्नी एयरको विमान जोमसोमबाट पोखरा आउने क्रममा विमानस्थल नजिकैको डाँडामा ठोक्किएर सन् २०१३, १४ मेमा दुर्घटनामा परेको थियो । दुर्घटनामा चालक दलका तीन सदस्य सहित सबै १६ यात्रुको ज्यान गएको थियो ।
सन् २०१४ फेब्रुअरी १६ तारिखमा काठमाडौँबाट जुम्लाका लागि उडेको नेपाल वायु सेवा निगमको जहाज दुर्घटनामा परेको थियो । अर्घाखाँची सदरमुकामबाट ३० किलोमिटरको दुरीमा रहेको खिदिममा विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो । सन् २०१५ मार्च १५ तारिखमा २ सय २७ जना यात्रु र चालक दलका ११ जनासहित २ सय ३८ जना सवार टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो ।सो दुर्घटनामा जहाजमा सवार सबै यात्रु र चालक दलका सदस्य सकुशल रहेका थिए ।
तारा एयरको विमान सन् २०१६, फेब्रुअरी २४ तारिखमा दुर्घटना हुँदा २३ जनाको ज्यान गएको थियो । पोखराबाट जोमसोमका लागि उडेको यो विमान म्याग्दीको जंगलमा खसेको थियो । त्यसैगरी मार्च २०१८ – बाङ्ग्लादेशबाट नेपाल आएको यूएस–बाङ्ग्ला एअरलाइन्सको को विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो। उक्त विमानमा सवारमध्ये ५१ जनाको ज्यान गएको थियो । यो दुर्घटनाको ६ महिना नवित्दै सेप्टेम्बर २०१८ – गोर्खाबाट काठमाण्डू आउँदै गरेको एल्टिट्युड एयरको हेलिकप्टर धादिङ र नुवाकोटबीर रहेको एउटा जङ्गलमा दुर्घटनाग्रस्त भएको थियो। एक जापानी पर्यटक र अन्य पाँच जनाको मृत्यु भएको थियो ।
फेब्रुअरी २०१९ – एयर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङमा पाथीभरानजिकै दुर्घटनामा पर्दा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ज्यान गयो ।
एप्रिल २०१९– सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकप्टरमा गएर ठोकिँदा कम्तीमा तीन जनाको मृत्यु ।