निर्वाचन आचारसंहिता अनुगमन गर्न देशभर संयन्त्र तयार

काठमडौं । निर्वाचन आयोगले यसपालीदेखि देशव्यापी रुपमा आचारसंहिता पालनाको अनुगमन गर्ने भएको छ । गत शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू गरेको आयोगले त्यसको अनुगमनका लागि पनि संयन्त्र गठनको व्यवस्था गरेको हो । आयोगले अहिले केन्द्रीय, जिल्ला, निर्वाचन क्षेत्र र स्थानीय तहमा गरी चार तहमा आचासंहिता अनुगमनको संयन्त्र बनाइसकेको छ । ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा निर्वाचन क्षेत्रस्तरीय संयन्त्र भने रहनेछैन ।

निर्वाचन आयोगले यसअघिका निर्वाचनमा केन्द्रियस्तरमा आचारसंहिता पालनाको अनुगमन गरिरहेकोमा अब भने जिल्ला र स्थानीय तह स्तरमा विकेन्द्रिकरण गरिएको निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले बताए । यसपालीको निर्वाचनमा स्थानीय तहमा रहेका निर्वाचन अधिकृतले समेत आचारसंहिता पालनाको अनुगमन र कारवाही गर्नसक्ने उनले बताए ।