८ महिनामा ६ खर्ब ३१ अर्ब रेमिट्यान्स भित्रियो, वैदेशिक रोजगारीले देशको अर्थतन्त्र चल्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ८ महिनासम्म ६ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.७ प्रतिशतले कमी हो । अघिल्लो महिना माघसम्म भने विप्रेषण आप्रवाह ४.९ प्रतिशतले घटेर ५ खर्ब ४० अर्ब १२ करोड रुपैयाँ भित्रिएको थियो ।

चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै लगातार रेमिट्यान्स घट्ने क्रममा देखिएको थियो । ८ महिनासम्म आइपुग्दा भने रेमिट्यान्स बढ्ने संकेत देखिएको छ । यही अवस्थामा रेमिट्यान्स भित्रने क्रम रहने हो भने चैत महिनामा रेमिट्यान्स थप बढ्ने देखिने छ ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २ लाख २७ हजार ९०० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८२.९ प्रतिशतले घटेको थियो ।