तातोपानी कुण्ड : जहाँ डुबेपछि निको हुन्छन् यस्ता रोगहरु

नेपालकै प्रसिद्ध पर्यटकीयस्थल राउन्ड अन्नपूर्णमा पद यात्रा गर्ने पर्यटक र विभिन्न अस्पतालहरुमा उपचार गराएर रोग निको नभएका दीर्घरोगीहरुका लागि आजभोलि म्याग्दी जिल्लाका तातोपानी कुण्डहरु मनोरञ्जन र प्राकृतिक उपचारका आकर्षक स्थल बन्दै गएका छन् । पश्चिम म्याग्दीको सिङ्गा तातोपानी, उत्तरी म्याग्दीको भुरुङ तातोपानी, दर्मिजाको तातोपानी कुण्डलगायत जिल्लाका १४ ठाउँमा रहेका तातोपानी कुण्डहरुमा बाह्य र आन्तरिक पर्यटकको भीड बढ्दै गएपछि कुण्डहरुलाई व्यवस्थित बनाइएको छ ।

मुख्य गरी उपचार केन्द्रको गन्तव्य बनेका यी तातोपानी कुण्डहरु पछिल्लो समय राउन्ड धौलागिरि र राउन्ड अन्नपूर्णको पदयात्रामा आउने विदेशी पर्यटकहरुका लागि गतिला मनोरञ्जन स्थल पनि बनेका स्थानीयवासीले बताएका छन् । धेरै दिनसम्म हिमाली क्षेत्रमा पद मार्गमा यात्रा गर्दा युरिक एसिड, बाथ, ढाड दुख्ने, घुँडा दुख्ने, स्किन एलर्जी, यात्रामा हुने घाउ खटिराको उपचार पर्यटकहरुले म्याग्दीमा पुगेपछि तातोपानीले गर्ने गरेका छन् ।

मूलबाट नै ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम भएको पानी निस्कने प्राकृतिक तातोपानीका कुण्डहरुमा डुबेपछि चिसोबाट हुने रोग, ग्यास्टिक, सडके मर्केको रोगीहरु निको भएर फर्किने गरेका कारण यहाँ यस्ता बिरामीहरु आउने गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले बताए ।

त्यसैगरी उत्तरी म्याग्दीको भुरुङ तातोपानी स्वास्थ्य पर्यटन र मनोरञ्जनको हब बनेको छ । मनाङ जिल्लाको थोराङ क्रस गरेर मुक्तिनाथ, जोमसोम हुँदै म्याग्दीको भुरुङ तातोपानी आइपुग्ने बित्तिकै पर्यटकहरु तातोपानीको कुण्डमा नुहाउन थाल्दछन् । कतिपय पर्यटकहरु त थकाइ मेटाउन घण्टौँसम्म कुण्डमा डुबुल्की मारिरहन्छ । तातोपानी कुण्डमा डुबेर स्नान गरेमा बाथ, ग्यास्ट्रिक, गानोगोला, चर्मरोगदेखि लिएर प्यारालाइसिस जस्ता रोग निको हुने जनविश्वासका कारणले पनि पर्यटकहरु तातोपानीमा नुहाउँछन् ।

भुरुङ तातोपानी पर्यटकीयस्थलका रुपमा विकास भएको छ । भुरुङ तातोपानीबाट केही पर्यटक शिख घारको उल्लेरीको उकालो चढ्दै म्याग्दीको घोडेपानीमा रहेको पुनहिलतर्फ जान्छन् भने केही कालीगण्डकीको किनार किनारै म्याग्दीको सदरमुकाम बेनी निस्केर ढोरपाटन जाने पनि गर्दछन् ।

अन्नपुर्ण पदयात्रामार्गअन्तर्गत पर्ने म्याग्दीको घोडेपानीमा पर्यटकहरुको लागि आकर्षणको केन्द्र विन्दु मानिन्छ । समुन्द्री सतहदेखि तीन हजार २१० मिटरको उचाइमा अवस्थित पुनहिलबाट मनोरम प्राकृतिक छटाको दृश्यावलोकन गर्न सकिन्छ । भुरुङ तातोपानीको आसपासमा मात्रै पाँचवटा तातोपानीका मुहान छन् । स्थानीय मानिसहरुले आफूलाई पायक पर्ने मुहानमा नुहाउने गर्दछन् । तप्तकुण्डमा स्नान गर्नाले रोगबाट मुक्ति पाइन्छ भन्ने विश्वास छ ।

भुरुङ तातोपानी कुण्डलाई वरिपरि पर्खाल लगाएर व्यवस्थित बनाइएको छ । मुक्तिनाथ जाने बाटोमा पर्ने भएकाले भुरुङ–तातोपानी तप्तकुण्डमा तीर्थाटन पर्यटकहरुले समेत नुहाउने गर्दछन् । मुस्ताङ र मुक्तिनाथ क्षेत्रको भ्रमणमा भारतका तीर्थयात्री र तेस्रो मुलुकका पर्यटकहरु पुग्ने गर्दछन् ।

तातोपानी कुण्डमा तीन वर्षसम्म वर्षको दुईपटक १०÷१२ दिनसम्म डुबेपछि लामो समयसम्म निको नभएका रोग पनि यहाँ डुबेपछि निको भएको बिरामीले बताएका छन् । उपचार गर्नकै लागि स्वदेश तथा विदेशका महँगा अस्पतालमा पुगेर उपचार गर्दासमेत निको नभएको रोग तातोपानी कुण्डमा डुबेर निको भएको तातोपानीमा डुबेर रोग निको भएका विरामीहरुको भनाइ रहेको छ ।