धरानमा गुमेको विरासत फर्काउन एमालेका विजय, मोती र मनोजको चर्चा

यस्तो छ उनीहरुको संक्षिप्त परिचय र राजनीतिक यात्रा

काठमाडौं । विसं २०३६ सालमा भएको निर्वाचनमा तत्कालीन ‘जनपक्षीय’ उम्मेदवार बम देवानले जितेपछि धरान कम्युनिस्ट पार्टीको पकडको रुपमा रहँदै आएकोमा २०७४ सालको निर्वाचनमा निर्वाचित मेयर तारा सुब्बाको निधन भएपछि भएको उप निर्वाचनमा कांग्रेसका उम्मेद्वार तिलक राईले बाजि मारेका थिए ।

पञ्चायती व्यवस्थामा पनि बामपन्थी विचारधारका उम्मेद्वार विजयी भएको धरानमा ऐतिहासिक रुपमा कांग्रेसका उम्मेद्वार विजयी भएपछि आफ्नो गुमेको विरासत फिर्ता ल्याउन र त्यसलाई प्रतिष्ठाको विषयको रुपमा हेरिएको छ । उता कांग्रेस पनि यसपटकको स्थानीय तहको निर्वाचनलाई आफ्नो ऐतिहासिक जीतको प्रतिष्ठा बचाउन हरसम्भव प्रयासमा जुटेको छ ।

झण्डै तीन दशकदेखि कम्युनिस्ट पार्टीका सदस्यहरूले एकलौटी नेतृत्व गर्दै आए पनि खानेपानी, सुकुम्वासी समस्या, विमानस्थल निर्माण जस्ता विषयमा जनप्रतिनिधिले ध्यान नदिएको धरानवासीले गुनासो गर्दै आएको सन्दर्भमा यस पटकको स्थानीय निर्वाचनमा धरानमा ‘तीन दशकदेखिको कम्युनिस्टहरूको किल्ला तोडिएको’ रूपमा अर्थ लगाईरहेको अवस्थामा त्यो विरासत फिर्ता ल्याउनका लागि नेकपा एमालेका तर्फबाट मुख्यतः तीन जना उम्मेद्वारहरु विजय राई, मोति सुनुवार र मनोज कुमार मेन्याङ्बोको नाम चर्चामा छ ।

धरानको राजनीतिक इतिहासलाई पछाडि फर्केर हेर्दा पहिलो पटक २०१५ सालमा आम निर्वाचन हुँदा कांग्रेसका डिट्ठा ज्ञानचन्द्र सरदारले जितेका थिए । त्यसपछि ०१७ सालमा नगरपालिका घोषणा भएसंगै वामपन्थी उम्मेदवारहरू नै लगातार मेयर भएको पाइन्छ । ०४६ सालको जनआन्दोलन पछि संवैधानिक राजतन्त्रको पालामा ०४८ र २०५४ सालमा भएको निर्वाचानमा वामपन्थी उमेदवार नै मेयरमा निर्वाचित भएका थिए । ०४८ मा ध्यानबहादुर राई, २०५४ मा मनोज मेन्याङ्बोले वामपन्थी जितलाई निरन्तरता दिए । ०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका तारा सुब्बाले जित्दा कांग्रेसका उम्मेदवार तिलक राई दोस्रोमा थिए । सुब्बाले २० हजार ९ सय ७५ मत ल्याउँदा तिलक राईले १६ हजार १ सय २ मत ल्याएका थिए । मेयरमा जितेको एक वर्ष नपुग्दै ०७५ साउन १ गते सुब्बाको निधन भएपछि उपमेयर मञ्जु भण्डारीले कार्यवाहक मेयर पद सम्हालेकी थिइन् ।

उता कांग्रेसले गठबन्धनका घटकहरू नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (एस), जनता समाजवादी पार्टी र जनमोर्चाको साथ र सहयोगमा २०७६ मंसिरको उपनिर्वाचन दोहो¥याउने तयारीमा जुटेको छ भने एमालेले भने ०७४ असारको नतिजालाई दोहो¥याउँदै आफ्नो पुरानो साख फर्काउने चुनावी रणनीति बनाइरहेको छ ।

को हुन् त विजय राई ?

विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा उदाएका विजयकुमार राई धरान उपमहानगरपालिका वडा नं. ११ का स्थायी वासिन्दा ह्न् । ५१ बर्षे उमेरमा उनले ३ दशक राजनीतिमा समय खचिएका छन् । मोरङको रंगेली नगरपालिका–१ म जन्मिएका राई २०६२ सालदेखि धरानमा स्थायी बसोवास गदैं आएका छन् । उनी राजनीतिमा पढे लेखेका युवा आउनु पर्छ भन्ने मान्यता राख्छन् । २०५०÷०५१ म उनले धरान–११ स्थित ज्ञानोदय माविमा अध्यपनसमेत गरे । राजनीतिशास्त्रमा स्नाकोत्तर र शिक्षाशास्त्रमा विएड गर्नु भएका राई २०४१ सालदेखि नै सक्रिय राजनीतिमा छन् । अनेरास्ववियु जनता मावि मोरङको कोषध्यक्षाको जिम्मेवारीबाट उनले राजनीति यात्रा शुरु गरेका थिए ।

२०४४ सालमा महेन्द्र मोरङ आर्दश क्याम्पस विराटनगरमा अनेरास्ववियु प्रारम्भीक कमिटीको सदस्य भए । २०४६ सालमा धरानको महेन्द्र बहुमखी क्याम्पसबाट व्यवस्थापन विषयमा स्नातक गरेका थिए । त्यहाँ रहदा पनि उनी विद्यार्थी आन्दोलनमा सक्रिय भए । उनी विद्यार्थी राजनीतिमा सक्रिय हुदैं जाँदा अनेरास्ववियुको केन्द्रीय सदस्य, सचिवालय सदस्य, शैक्षिक विभाग प्रमुख, विद्यार्थी विशेष जिल्ला कमिटी सदस्य हुदैं नेकपा एमालेको त्रिवि शाखा कमिटी सचिव भएर काम गरे ।

शैक्षिक र राजनीतिक क्षेत्रमा उनको योगदान कदर गदैं २०६० सालमा नेकपा एमालेको तर्फबाट प्रधानमन्त्री बनेका झलनाथ खनालको स्वकिय सचिवको रुपमा पार्टीले जिम्मेवारी दियो । हाल उनी पार्टीको भूगोलमा रहेर काम गरिरहेका छन् । उनी प्रदेश कमिटी सचिवालय सदस्यसँगै सुनसरी १ नंं निर्वाचन क्षेत्र प्रदेश ख को इञ्चार्जको जिम्मेवारीमा रहेका छन् ।

२०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरमा उनको बढी नै चर्चा छ । उनको २०७० सालको निर्वाचन ताका नै चर्चा चलेको भए पनि २०७४ सालको उपनिर्वाचनमा मेयरको लागि प्रदेशबाट उनको नामसमेत सिफारिस भए पनि पार्टीबाट टिकट प्रकाश राईले पाए ।

धरानको खानेपानी आयोजना, तीनकुने सुन्दर बस्ती आयोजना र बसपार्क निर्माण योजनाहरु नेकपा एमालेको पहल र नेतृत्वमा शुरु भएको विषय भएकाले त्यसलाई व्यवस्थित रुपमा अव एमालेकै नेतृत्वमा सम्पन्न गर्नेे उनको भनाई छ । ‘म शुरुदेखि नै यही ठाउँमा बसेर राजनीति गर्दै आएको छुँ । त्यसैले यहाँको जनताको, मतदाताको सुख, दुःखमा हरदम साथमा छु । मलाई यो ठाउँको जनता, पाखाभित्ता, खोला नालाको समस्या के हो, के आवश्यकता छ, के गरिदिनुपर्छ भन्ने सबै थाहा छ । दुःख,सुखमा सधै हातेमालो गर्दै हिडिरहेको छु ।’ राई भन्छन्, ‘एमालेको विगतको विरासत पर्काउन पनि एमालेको सशक्त उम्मेद्वाार आवश्यक छ ।’

को हुन् मोती सुनुवार ?

मोतिराज सुनुवार धरानमा राजनीतिक वृत, मजदुर, पत्रकारिता, कलाकारितालगायत क्षेत्रमा एउटा स्थापित नाम हो । २०२१ सालमा दोलाखाको ठूलोपातलमा जन्मिएका सुनुवार २०३७ सालमा उच्च शिक्षा अध्ययनका लागि धरान आएका थिए । महेन्द्र बहुमुखी क्याम्पस धरानबाट व्यवस्थापन विषयमा स्नातक गरेका सुनुवार २०३५ सालमा जिरी व्यवसायिक माविमा अध्ययन गदैंगर्दा राजनीतिमा प्रवेश गरे ।

२०३७ साल चैत्र १४ गते अनेरास्ववियुले गरेको देशव्यापी आन्दोलनमा महेन्द्र क्याम्पसबाट उनको सक्रिय भूमिका थियो । विद्यार्थी आन्दोलनसँगै २०४० साल पछि भने उनको राजनीतिक यात्रा मोडियो । विद्यार्थी जीवन पैसाको अभाव हुन थाल्यो । उनले २०४० सालमा यातायात क्षेत्रमा बुकिङ मजदुरको रुपमा काम थाल्नु भयो । मजदुर आन्दोलनसँगै उनले २०५९ सालसम्म त्यही क्षेत्रमा काम गरे । २०४३ सालमा नेपाल यातायात मजदुर संंघको सचिवमा विजयी भए । पार्टीमा पनि उनले मजदुर क्षेत्रको जिम्मेवारी पाए । २०४६ सालको जनआन्दोलनमा लिला सुब्बा श्रेष्ठ, कृष्णनारायण पोलेखे, छविलाल लम्साल, महेन्द्र बुढाथोकी, विहार पोखरेल, कमल बुढाथोकी, रंंगलाल गिरीलगायत नेताहरुसँगै आन्दोलनमा होमिए ।

उनले २०४६ साल पुस २३ गते नेकपा मालेको संगठित सदस्यता प्राप्त गरे । उनले १५ नं. वडाबाट सक्रिया राजनीतिक गदैं आएका छन् । २०५५ सालमा नेकपा एमालेको जिल्ला सम्मेलनमा जिल्ला सदस्यको जिम्मेवारी पाए । पुन २०५८, २०६२ सालमा जिल्ला सदस्यकै जिम्मेवारीमा काम गरे । उनको राजनीति खारिदैं जादैं थियो । २०६६ सालको पाँचौ जिल्ला अधिवेशनमा उपसचिवको जिम्मेवारी पाए । छैटौ अबिधेशनमा उनले पार्टीको जिल्ला सचिवको जिम्मेवारी पाए । त्यस पछि कोशी अञ्चल समन्वय समिति सदस्य, प्रदेश सल्लाहाकार सदस्यको जिम्मेवारी पाए । २०७७ पुस ५ पछि नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी पाउनु भएको थियो । पछि सबै नेताहरुलाई व्यवस्थापन गर्दा उनी पुन प्रदेश कमिटी सदस्य भई हाल सुनसरी क्षेत्र नं. १ क को इञ्चार्जको जिम्मेवारीमा रहेका छन् ।

राजनीति र मजदुर आन्दोलनसँगै उनी एउटा सञ्चार उद्यमीको रुपमा पनि परिचित छन् । २०६२ सालमा धरानमा औजार साप्ताहिक प्रकाशन शुरु भयो । पछि त्यसलाई दैनिक बनाइयो । औजार दैनिक अघिल्लो बर्षको कोरोना महामारीका कारण आर्थिक संकट भएर बन्द भयो । २०३९ सालदेखि नै सक्रिया कम्यूनिष्ट आन्दोलनमा लागेका सुनुवारले २०६४ को पहिलो संविधान सभाको निर्वाचनमा उनको नाम आएको थियो तर उनले धरान उपमहानगरका पूर्व मेयर मनोज कुमार मेयाङ्वोलाई छाडिदिए तर, त्यस बेला धरानमा माओवादीका किरणकुमार राईले चुनाव जिते । २०७० सालको चुनाव उनको पालो आए पछि पार्टीले कृष्णकुमार राईलाई टिकट दियो ।

लामो राजनीतिक योगदान दिएका सुनुवारले पटक पटक अन्य व्यक्तिहरुलाई अवसर दिदैं आए । २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भने उनी मेयरको पदमा पालो आउने आशा गरेका छन् ।

को हुन् मनोज मेन्याङ्बो ?

२०५४ सालको निर्वाचनमा धरानबाट मनोज मेन्याङ्बोले मेयरमा विजय हासिल गरेका व्यक्ति हुन् । धरानलाई शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, सांस्कृतिक र भौतिक विकास निर्माणको २० बर्षे दीर्घकालिन मिसन, भिजन र गोलसहितको योजना बनाएर मुलुकमै पहिलो पटक जनसहभागितामा आधारित विकासे मोडल कार्यान्वयन गर्न सफल मेयरको रुपमा उनलाई हेर्ने गरिन्छ । मेन्याङ्बो ०५४ पछिको पाच बर्षे कार्यकालमा मुलुककै चर्चित तीन मेयर मध्ये एक थिए । त्यसबेला काठमाण्डौका मेयर केशव स्थापित, हेटौडाका मेयर डोरमणी पौडेल र धरानका मनोज कुमार मेन्याङ्बो । त्यो चर्चा अझै सेलाएको छैन् । उहाँको पालामा तय गरेको नारा धरान उपमहानगरले अझै बोकेर हिडेको छ । शहरको विकासमा जनसहभागिताको अभियान चलाउने नेपालको पहिलो मेयर र स्थानीय सुशासन ऐन २०५५ अनुसार एकिकृत सम्पति कर लागु गराउने पहिलो मेयर पनि मेन्याङ्बो नै हुन् । उनले २०४९ सालमा उपमेयर भएर काम गरेका थिए ।

मेन्याङ्बो एक पटक उपमेयर एक पटक मेयर हुदा कुनै पनि आर्थिक विवादमा परेका छैनन् । उनी धरानलाई बनाउने नेताको रुपमा परिचित छन् । उनी अरुलाई पनि भ्रष्टाचार गर्न नदिने, कार्यकर्ता र जनतालाई खोक्रो आश्वासन नदिने, ठूलो सपना पनि नबाड्ने, हुन्छ भने हुन्छ हुदैन भने हुदैन भन्ने, आफ्नो अडान नछाड्ने छवि बनाएका नेताको रुपमा चिनिन्छन् ।

उल्लेख गरिएका तीन नामहरु जो नेकपा एमालेका तर्फबाट गुमेको कम्युनिष्ठ विरासत फर्काउने चर्चामा रहेका नामहरु हुन् । धरानको कुल मतदाता १ लाख ३ सय २४ जना रहेका छन् । बढीमा ७० प्रतिशत मत खसेमा मेयर पद जित्नेले धरानमा ३५ हजार मत कटाउनुपर्ने धरानका राजनैतिक व्यक्तिहरुको बुझाई छ । धरानमा ०७६ मा कांग्रेसले २६ हजार ७ सय ९, एमालेले २३ हजार ९ सय १४ र लिम्बुवानले १ हजार १ सय ३१ प्राप्त गरेका थिए । माओवादी केन्द्र र एमाले एउटै पार्टी हुँदा समेत प्रकास राई पराजित भए तिलक राईसंग । जवकी चुनावका बेला कांग्रेसका स्थानीय नेताहरूले नै भनिरहेका थिए धरानमा कांग्रेसलाई एकछापे भोट हान्ने विशुद्ध कांग्रेसी ८ हजारभन्दा बढी छैन । बाँकी भोटमध्ये माओवादी, एमाले भित्रैका असन्तुष्ट गुट र सुकुम्बासीहरूले तिलकलाई दिएको पछि खुलेको थियो । तर, यसपटक भने गठबन्धन वा एमाले यी दुवै पक्षलाई चुनाव जित्न सोँचेजस्तो सजिलो नभएको स्थानीय राजनीतिकर्मीहरुको विश्लेषण छ ।