किन फ्यानबाटै लखेटिइन् रचना रिमाल ?

पब्लिक क्रेज कुनै पनि कलाकारको सम्पत्ति हो । तर, यस्तो क्रेजले कहिलेकाहीँ उनीहरूलाई दुःख र हैरानी पनि दिन्छ । लोकप्रिय गायिका रचना रिमाललाई यस्तै भयो हिजो ।

रचनालाई केही व्यक्तिहरूले लखेटेको जस्तो देखिने एउटा भिडिओ टिकटकमा भाइरल भएको छ । उनी त्रसित मुद्रामा अघिअघि कुदिरहेको र पछाडि दर्जनौंले पछ्याइरहेको भिडिओमा देखिन्छ । धेरैले यो भिडिओलाई लिएर अनेक अनुमान लगाइरहेका छन् ।
आखिर भएको के थियो रु हामीले यथार्थ बुझ्न रचनालाई नै सम्पर्क गर्‍यौं ।

रचनाकै शब्दमा घटना विवरण यस्तो छ :
म इजरायलबाट इलामको प्रोग्राम भ्याउने गरी अस्ति मंगलबार नेपाल फर्किएको थिएँ । मंगलबार नै इलामबजारमा एउटा महोत्सवमा मैले गीत गाउनुपर्ने थियो । त्यसको लागि एडभान्स पनि लिइसकेको थिएँ । अनि त्यसको भोलिपल्ट हिजो मोरङमा अर्को कार्यक्रम थियो ।

म दिउँसो साढे २ बजे त्रिभुवन विमानस्थल ल्यान्ड भएँ । मेरो झापाका लागि ३ बजेको फ्लाइट थियो । तर, फ्लाइट झण्डै ४ घन्टा ढिलो भयो । म बेलुका ७स्४० मा झापा पुगेँ । त्यहाँबाट इलाम पुग्दा रातिको ९स्५० भयो । म पुग्दा त्यसदिनको कार्यक्रम बन्द भइसकेको रहेछ । अरु दिन १०(११ बजेसम्म चल्ने भए पनि त्यसदिन केही लफडा भएर चाँडै बन्द भएको आयोजकले बताउनुभयो । अनि मलाई आजको साटो भोलि आफ्नो प्रस्तुति दिन भन्नुभयो । मैले बिहीबार गीत गाउने भनेर भिडियो पनि बनाएर हाल्नुभयो ।

भोलिपल्ट म मोरङमा पुग्नुपर्ने भएकाले मेरो प्रस्तुति चाँडै राख्न भनेको थिएँ । मैले दिउँसो नै गाउने सेड्यूल थियो । तर, दर्शकहरू आउन ढिला भएपछि मेरो प्रस्तुति पनि ढिलो भयो । बल्ल साढे ४ बजे गाउन पाएँ । करिब ३० मिनेट लगाएर ५ वटा गीत गाएँ । मलाई मोरङबाट लिन गाडी आइसकेको थियो । म एकदम हतारिएको र आत्तिएको थिएँ ।

पहिले नै वचन दिइसकेको हुँदा मैले मोरङको कार्यक्रम भ्याउनैपर्थ्यो । उताबाट आउनुभएका व्यक्तिहरूले मलाई ‘गाडी आइसक्यो कुद कुद‘’ भन्नुभयो । म पनि केही नसोची दौडिएँ । यता दर्शकहरु मसँग फोटोरसेल्फी खिचाउन आतुर हुनुहुन्थ्यो । तर, मसँग समय थिएन । त्यसैले म दौडिँदै गाडीसम्म गएँ । बीचमा एउटा बच्चासँग चाहिँ फोटो खिचाएँ, त्यो भिडिओमा देखिएको छैन ।

जेनतेन मैले मोरङको कार्यक्रम भ्याएँ । तर, म दौडिएको भिडिओ भाइरल भइरहेको रहेछ । हेरेर आफैंलाई नरमाइलो लाग्यो । म खासमा त्यसरी दौडिनु नहुने थियो । तर, हतारको बेला केही सोच्न सकिनँ । फ्यानहरूसँग भागेजस्तो भयो । सबैले फोन गरेर सोधिरहनुभएको छ । म खालि यस्तै यस्तै कुरामा फस्न पुगिरहेको छु । चाहेर होइन । खोइ के भएको हो । दिक्क लागिसक्यो ।

म सकेसम्म आफ्ना दर्शकहरुसँग घुलमिल हुन चाहन्छु । फोटोरसेल्फी खिच्न आउनेहरुसँग भ्याएसम्म खिच्ने गरको पनि छु । हिजो चाहिँ त्यस्तै भयो । म सबै दर्शकसँग माफी चाहन्छु । अब चाहिँ यसरी कहिले पनि दौडिन्न । नेपाल प्रेसबाट