रेणु दाहाललाई उम्मेद्वार बनाउने भएपछि भरतपुरमा ५० जना कांग्रेस कार्यकर्ताको सामूहिक राजीनामा

चितवन । भरतपुर महानगरपालिका फेरि पनि माओवादीलाई जिम्मा लगाउन लागेको विरोधमा वडा नम्बर १७ का ५० जना कांग्रेस कार्यकर्ताले सामूहिक राजीनामा दिँदै स्वतन्त्र अभियान घोषणा गरेका छन् ।
बेलुवा टोलमा शनिवार भेला गरेर पूर्व वडाध्यक्ष देवनारायण महतो, पूर्व वडा सभापति प्रकाश कँडेलसहित ५० जना क्रियाशील कार्यकर्ताले सामूहिक राजीनामा दिएका हुन् ।

प्रकाश कँडेलको संयोजकत्वमा भएको भेलाले कांग्रेसबाट राजीनामा दिए पनि देश र जनहितको कामका लागि सधैँ उपस्थित रहने निर्णय गरेको छ । राजीनामा दिएका सबैले हस्ताक्षर समेत गरेका छन् ।
भरतपुरको मेयर रेणु दाहाललाई छाडिए कांग्रेसबाटै स्वतन्त्र उम्मेदवारी दिने तयारी समेत भइरहेका बेला वडाबाट थालिएको सामूहिक राजीनामालाई अर्थपूर्ण रूपमा लिइएको छ ।