ओलीलाई आफ्नै गृह नगरमा सत्ता गठबन्धन र राप्रपाबीचको तालमेलले चुनौती

दमक । झापाको दमक नगरपालिकामा राप्रपासँग सत्ता गठबन्धन मिले एमालेका उम्मेदवारलाई जित्नका लागि ठुलो चुनौती खडा हुने देखिएको छ । दुई दिन अगाडि इटहरीमा बसेको गठबन्धन दलको बैठकमा राप्रपाका प्रदेश १ अध्यक्ष राम थापा पनि सहभागी भएका थिए ।

बैठकमा भएको निर्णयबारे जानकारी दिँदै थापाले भने, ‘चुनावमा आवश्यकता अनुसार तालमेल गर्ने निर्णय भएको छ । तालमेल गरेर जाने भन्ने निर्णयको माइन्युटमा हस्ताक्षर पनि गरेको छु । गठबन्धन भनेको अनिवार्य हुने भयो, तालमेल भनेको आवश्यक ठाउँमा हुने भयो । हाम्रो चाहिँ सम्भव भएसम्म पाँच दलीय गठबन्धनसँग तालमेल हुने भनिएको छ ।’