विवेकशील साझाको घोषणापत्र सार्वजनिक, ५० वटा सार्वजनिक शौचालय बनाउने

काठमाडौं । रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिका केन्द्रित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा विद्युतीय सवारी साधन खरिदमा तीन वर्षसम्म महानगरीय कर नलिनेदेखि काठमाडौंमा सार्वजनिक शौचालय निर्माण गर्नेसम्म उल्लेख छ ।
महानगरको मेयरमा समीक्षा बाँस्कोटा र उपमेयरमा कीर्ति तुलाधारलाई अगाडि सार्दै विवेकशीलले चुनावी घोषणापत्रमार्फत ५० वटा थप सार्वजनिक शौचालयलगायत निर्माण गर्ने घोषणा गरेको हो ।

‘डिजल र पेट्रोलबाट चल्ने सार्वजनिक यातायातलाई क्रमशः विस्थापित गर्दै लगिनेछ, बिजुलीबाट चल्ने यातायातमा रुपान्तरण गर्ने संस्था र कम्पनीलाई महानगर अन्तर्गतका सबै कुरा तीन वर्षका लागि मिनाहा गरिनेछ,’ घोषणापत्रमा उल्लेख छ ।

यसैगरी, हरेक वडामा नयाँ सार्वजनिक पार्क बनाउने, अनधिकृत जग्गालाई खुल्ला क्षेत्रका रूपमा विकास गर्ने, काठमाडौंका कतिपय भित्री क्षेत्रमा निश्चित समयका लागि सवारीसाधान निषेध गरी पर्यटक लक्षित आकर्षक बजार क्षेत्र र स्थानियवासीका लागि सार्वजनिक स्थलको विकास गर्ने बिषय समेटेर चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

काठमाडौंमा चुनावी घोषणापत्र सार्वजनिक गर्ने विवेकशील पहिलो पार्टीसमेत भएको छ ।