पल प्रकरणमा नाबालिग गायिकाले बयान फेरिन्, करणी गरेको होइन

पीडितको बुवाले पनि बयान फेरे

काठमाडौं । आज जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा नाबालिग गायिकाले अदालतमा बयान फेरेकी छन् । उनले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको बताएकी हुन् ।
पीडितको तर्फबाट मुद्दा लडिरहेका एक कानून व्यवसायीका अनुसार आफूले अरूको उक्साहटमा परेर जाहेरी दिन पुगेको दाबी गरेकी छन् ।
अभिनेता पल शाहले आफ्नी नाबालिग छोरीमाथि पटक पटक बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका बाबुले पनि बयान फेरेका छन्। नाबालिग पीडितको तर्फबाट प्रहरीमा जाहेरी दिएका ती बाबुले आइतवार जिल्ला अदालत तनहुँमा गरिएको बकपत्रका क्रममा सुरुमै बयान फेरेका हुन्। वकपत्र गराउने क्रममा उनले पलविरुद्ध प्रभाव र दबाबमा परेर बलात्कार मुद्दा दर्ता गराएको भन्दै बयान फेरेका हुन्। त्यसअघि सुरुमा पीडित नाबालिगको पनि बकपत्र गरिएको थियो। उनले पनि आफूलाई पलले बलात्कार नगरेको भन्दै ’होस्टाइल’ भएकी थिइन्।
ती नाबालिगले पनि दबाब र प्रभावमा परेर पलविरुद्ध उजुरी दिएको बकपत्र अदालतसमक्ष गराएकी छन् । अहिले जाहेरवाला बाबुको वकपत्र जारी छ। दुवैजनाले बयान फेरेपछि अब यो प्रकरणले नयाँ मोड लिएको छ ।
नाबालिग गायिका होस्टाइल बनेसँगै मुद्दामा ट्विस्ट आएको छ । उनको बकपत्रले पल शाह पक्षमा खुसीयाली छाएको छ । यसबीचमा पलको परिवारले गायिकाको परिवारलाई प्रभावमा लिएर बयान फेर्न प्रेरित गरेको आशंका गरिएका छन् ।
उनको पक्षबाट गएका एक वकिलले भने– होस्टाइल भइन्, बयान पूरै रेडिमेट दिइरहेकी छन् । आफूलाई पलले करणी नगरेको भन्दैछिन् । प्रहरीमा दिएको बयान पनि होइन भन्दै जे लेखेर दिए त्यहि सारेकी हुँ भनिन् । जबकी उनले प्रहरी समक्ष आफूलाई पलले पोखरा, तनहुँ र गैंडाकोटमा गरेर तीनपटक करणी गरेको बताएकी थिइन् । एकाएक अहिले सबै उक्साहटमा हो भनेकी छन् । तर, उनले कसको उक्साहटमा यस्तो गरिएको भन्ने कुरा भने उल्लेख गरेकी छैनन् ।
अपराध संहिता २०७४ अनुसार १६ देखि १८ वर्षको किशोरीलाई करणी गर्दा १० देखि १२ वर्षको जेल सजाय हुन सक्छ भने बयान फेरेको अवस्थामा अदालतले ६ वर्ष कैद गर्ने कानूनी व्यवस्था छ ।
स्रोतका अनुसार उनले आफूलाई पलबाट बलात्कार नभएको बताउँदै प्रभाव र दबाबमा परेर त्यस्तो आरोप लगाएको अदालतसमक्ष बताएकी छन् । पललाई गत चैत २३ गते जिल्ला अदालत नवलपुरले पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
थुनछेक बहसपछि जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले पुर्पक्षका लागि तनहुँ कारागारमै पठाउन आदेश दिएको थियो।
अदालतको आदेशपछि अहिले उनलाई त्यसअघि आदेश भएको तनहुँ कारागार लगिएको थियो। अब नवलपुर अदालतमा शाहको बकपत्रका वैशाख ७ गते हुँदैछ। त्यसअघि तनहुँमा आइतवारदेखि बकपत्र भएको हो।
नाबालिग गायिका बलात्कारको आरोपमा उनलाई त्यसअघि जिल्ला अदालत तनहुँले पनि चैत १० गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। उनी कारागार कार्यालय तनहुँमा थिए।
२०७८ वैशाख १४ गते तनहुँमा नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा उनीविरुद्ध जाहेरी परेको थियो। गत फागुन १५ गते आफैं प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेका शाहविरुद्ध मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। तिनै गायिकाले गैँडाकोटमा पनि आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै जाहेरी दिएपछि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा दर्ता भएको थियो।
शाहलाई १२ देखि १४ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवाना माग गर्दै जिल्ला सरकारी वकिल कार्यालय नवलपुरले चैत ३ गते मुद्दा दायर गरेको थियो। तनहुँ अदालतबाट भएको आदेशविरुद्ध उनले उच्च अदालत पोखरामा पुनरावेदन गरिसकेका छन्। उनको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले यससम्बन्धी कैफियत प्रतिवेदन झिकाइसकेको छ।