गठबन्धन बैठक : सवैको आफ्नै दावीले झनै अन्योल

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिका सहित थप तीन उपमहानगरपालिकाको मेयर दाबी गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको कार्यदल बैठकमा नेकपा एसका महासचिव बेदुराम भुसालले पोखरा महानगरपालिकामा नेकपा एसको दाबी र जितको आधार पेश गरेका थिए ।

त्यस्तै इटहरी, हेटौंडा र तुलसीपुर उपमहानगरपालिका नेकपा एसले दावी गरेको छ । हेटौंडामा नेकपा माओवादी केन्द्रको पनि दाबी छ । नेकपा एसले बुटवल उपमहानगरपालिकामा पनि दाबी रहने भनेको छ ।

६ महानगर र ११ उपमहानगरपालिकाको बाँडफाँट केन्द्रबाटै हुने भएकाले गठबन्धनको कार्यदलमा छलफल चलिरहेको छ । उता सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकासहित ४ वटा उपमहानगरपालिका दाबी गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको रामचन्द्र पौडेल नेतृत्वको कार्यदलको बैठकमा माओवादीले धरान, जितपुर सिमरा, हेटौँडा र घोराही उपमहानगरपालिकामा समेत दाबी गरेको छ ।

माओवादीले नेकपा एसलाई पोखरा, जसपालाई वीरगन्ज दिएर बाँकी तीन महानगरपालिका विराटनगर, काठमाडौं र ललितपुर नेपाली कांग्रेसले राख्न सुझाव दिएको छ । त्यस्तै नेपाली कांग्रेसबाट पोखराको मेयर उम्मेदवार बन्नका लागि १८ जनाले आकांक्षा देखाएका छन् । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापा र यसअघि उपमेयरमा पराजित नेतृ सरस्वती गुरुङसहित १८ जनाले नाम परेको कांग्रेसले जनाएको छ ।