बामदेव गौतमले खोले नयाँ पार्टी

काठमाडौं । बामदेव गौतमले नयाँ राजनीतिक दलको घोषणा गरेका छन् । गौतमले मंगलबार दिउँसो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका गौतम पार्टीको संयोजक बसेका छन् भने ७५ सदस्यीय केन्द्रीय सदस्य रहेका छन् । त्यसमध्‍ये यो पार्टी समन्वय समितिको रुपमा रहँदासम्‍म केन्द्रीय सचिवालयमा ८ सदस्यहरु रहने छन्।

पार्टीको संयोजकमा बामदेव गौतम, सचिवमा डीबी कार्की र सदस्‍यहरुमा ओमशर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहेका छन् । पार्टीले संयोजक र सचिव बाहेक सबैजना सदस्‍यको रुपमा रहने जनाएको छ ।

नेकपा विभाजन पश्चात् छुट्टै अभियानमा रहेका गौतमले आफू पक्षधरको भेला गर्दै आएका थिए । नेकपालाई पुनर्जीवित गर्ने प्रयासमा रहेका उनी पनि एकीकरण हुने अवस्था नबनेपछि नयाँ दल गठन गरेका हुन् ।

राजधानीमा नयाँ पार्टी घोषणा समारोहमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै गौतमले आफूले पदमा बसिरहने तीव्र आकांक्षा पुरा गर्नका लागि पार्टी खोल्न नलागेको बताए ।

यस्तै परिवारका सदस्यलाई केन्द्रीय सदस्य बनाए पनि गलत प्रचार भएको जिकिर गरे । ‘दुबै आरोप सत्य होइन । पार्टीमा हुनुहुन्छ मेरो श्रीमती र छोरा । तर मेरो परिवार कम्युनिष्ट आन्दोलनमा छ’, उनले भने, ‘मेरो, आमा, भाइबैनी सबै जति छन् मेरा सन्तान ती सबै आन्दोलनमा लागेका छन् । आज होइन कठिन परिस्थितिमा आन्दोलनमा थिए ।’

उनले आफू ७ वर्षको उमेरदेखि कम्युनिस्ट आन्दोलनमा समाहित गरेको भन्दै आज ७३ वर्ष हुँदा पनि कम्युनिस्ट आन्दोलनको विकासकै लागि लागेकाले पदलोलुपताको आरोप लगाइनु गलत भएको बताए । ‘म व्यक्तिगत इच्छा पुरा गर्न छाडेर कम्युनिस्ट आन्दोलनको विकासका लागि पूर्णकालीन भएर भूमिगत हिँडेको थिएँ’, उनले भने, ‘कठिन परिस्थितिमा पार्टी निर्माण गरेको छु । मैले पार्टीको जग हालेको ठाउँमा धेरै ठूला नेता पैदा हुनुभएको छ । गण्डकीभन्दा पश्चिममा मैले जिम्मेवारीमा रहँदा नयाँ क्रान्तिकारी वा त्यसबेलाको नेकपा मालेको जग हालिएको थियो । मैले कुनै कम्पनी खोलेर, कुनै व्यवसाय गरेर आफ्नो व्यक्तिगत लाभ पुरा गर्न आफूलाई लगाएको छैन ।’