न्यायाधीशलाई २ करोड घुस प्रस्ताव गर्ने अधिवक्ता पोखरेलविरुद्ध सार्वजनिक सूचना

काठमाडौं । जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालालाई घुस प्रस्ताव गरेका अधिवक्ता रुद्रप्रसाद पोखरेल विरुद्ध नेपाल कानून व्यवसायी परिषदले सार्वजनिक सूचना जारी गरी स्पष्टीकरण माग गरेको छ ।

स्पष्टीकरणका लागि जारी भएको म्याद बुझ्न नमानेको र आफ्नो कार्यालय बन्द गरेर सम्पर्कविहीन भएपछि परिषदले गोरखापत्र दैनिकमा मंगलबार सार्वजनिक सूचना निकालेर ७ दिनभित्र स्पष्टीकरण दिन भनेको हो ।

पोखरेलले न्यायाधीश कोइरालालाई घुस लिने प्रस्ताव गरेको अडियो सार्वजनिक भएपछि परिषदले छानविन गरिरहेको छ । ‘जसरी हुन्छ, सम्पर्कविहीन भएर म्याद नबुझ्ने, स्पष्टीकरण पनि नदिने अनि यो विषयलाई अल्मल्याएर आफू उम्किन खोजेको देखिन्छ,’ परिषद स्रोतले भन्यो, ‘उहाँ घरमा पनि हुनुहुन्छ, कार्यालय बन्द गर्नु भएको छ । केही सिप नलागेपछि हामीले सार्वजनिक सूचना निकालेका हौं ।’

सार्वजनिक सूचना निकाल्नुअघि परिषदले पोखरेलको घर, कार्यालय र झापास्थित पुरानो स्थायी ठेगानामा समेत म्यादको पत्र पठाएको थियो । केही ठाउँबाट पत्र फिर्ता आएको परिषदका एक सदस्यले बताए । त्यसपछि परिषदको अनुशासन समितिमा भएको छलफल अनुसार सूचना निकालेको उनले बताए ।

सिभिल सहकारीका तत्कालिन अध्यक्ष इच्छाराज तामाङ विरुद्ध काठमाडौं जिल्ला अदालतमा चलिरहेको मुद्दामा आरोपित तामाङलाई धरौटीमा छाड्न अधिवक्ता पोखरेलले न्यायाधीश कोइरालालाई घुसको प्रस्ताव गरेका थिए । त्यो अडियो सार्वजनिक भएदेखि उनी सम्पर्कविहीन भएका छन् ।