मंसिर ४ मा हुने निर्वाचनको तयारी कसरी हुँदै छ ?

काठमाडौं । सरकारले मङ्सिर ४ गते निर्वाचन हुने घोषणा गरेसँगै निर्वाचन आयोगले त्यसअनुसार नै आफ्नो कार्यतालिका बनाएर काम थालेको छ ।

आयोगले भदौ १३ गते नेपाल राजपत्रमा प्रकाशित ’निर्वाचन आचारसंहिता २०७९’ पनि प्रकाशित गरिसकेको छ । प्रतिनिधिसभाका कुल २७५ सदस्यमध्ये १६५ जना पहिलो हुने निर्वाचन अर्थात् प्रत्यक्ष मतदानको प्रणालीबाट र ११० सदस्य सङ्ख्या समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । ती दुई मतदान प्रणालीका लागि अलगअलग मतपत्र प्रयोग गरिनेछ ।

आयोगका अनुसार निर्वाचन प्रयोजनका लागि ८० वटा दलले दर्ताका लागि निवेदन दिएका थिए। साथै एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि थप चारवटा निवेदन गरी आयोगले कुल ८५ वटा निवेदन प्राप्त गरेको थियो ।

दलहरूले पेस गरेका कागजपत्रको अध्ययन र जाँचबुझ गर्दा ७९ वटा चुनाव चिह्न प्रयोग गरी कुल ८७ वटा दल निर्वाचनमा भाग लिन योग्य ठहर भएको आयोगले जनाएको छ ।

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र प्रचण्ड नेतृत्वको माओवादी केन्द्रसहित पाँचवटा दलले एकल चुनाव चिह्न लिई निर्वाचनमा सहभागी हुन निवेदन दिएका थिए ।

निर्वाचन आयोगले ती दललाई छुट्टै दलको रूपमा दर्ता नगरी एउटै चुनाव चिह्न दिने निर्णय गरेको छ ।

समानुपातिक प्रणालीअन्तर्गत चुनावमा भाग लिन चाहने दलहरूलाई भदौ १० देखि १२ सम्म निवेदन पेस गर्न समय दिइएको थियो ।

समानुपातिक प्रणालीतर्फ भाग लिन ७६ वटा राजनीतिक दलले ६८ वटा निवेदन दिएका छन् । समानुपातिक तर्फ पनि केही दलले संयुक्त निर्वाचन चिह्न लिएका छन् ।

समानुपातिक तर्फ मधेश प्रदेशमा सबैभन्दा धेरै ६७ वटा दलले भाग लिएका छन्। कर्णाली प्रदेशमा सबैभन्दा कम ५७ वटा दलले भाग लिएका छन्। समानुपातिक प्रणालीतर्फ प्रदेश नं १ मा ६३ वटा, बागमती प्रदेशमा ६६ वटा, गण्डकीमा ६० वटा, लुम्बिनीमा ६२ वटा र सुदूरपश्चिम प्रदेशमा ५८ वटा दल सहभागी भएको आयोगले जनाएको छ ।

दलहरूले असोज २ र ३ गते समानुपातिक निर्वाचनका लागि उम्मेदवारहरूको बन्द सूची पेस गर्नेछन् । त्यसपछि असोज २२ निर्वाचन आयोगले उम्मेदवारको बन्द सूचीको सूचना प्रकाशित गर्नेछ ।
बन्द सूचीमा दाबी–विरोधसहित उम्मेदवारको अन्तिम बन्द सूची कार्तिक ९ मा प्रकाशित गर्ने निर्वाचन आयोगको योजना छ ।

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको कार्यक्रम भने केही समयपछि प्रकाशित गरिने आयोगले जनाएको छ ।