नेपाली क्रिकेटरले रेकर्ड बनाएका १६ अन्तर्राष्ट्रिय शतकहरु यस्ता छन्

काठमाडौं । नेपालले औपचारिक रूपमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २६ वर्ष भइसकेको छ । यसरी २६ वर्षे आफ्नो क्रिकेट खेलको दौरानमा थुप्रै उपलब्धिहरु हात पारिसकेको छ । सीमित स्रोत साधन एवं अनेकौँ खेलभित्रको विवाद तथा राजनीतिको कारण पनि नेपाली राष्ट्रिय टिमले आइसिसी एकदिवसीय टिमको मान्यता पाएइसकेको छ ।

२६ वर्षे खेलको दौरानमा नेपाली खेलाडीहरुले अहिलेसम्म १६ वटा अन्तर्राष्ट्रिय शतक प्रहार गरेको रेकर्ड बनाउन सफल भएका छन् ।

नेपालका लागि सर्वाधिक शतक प्रहार गर्ने कीर्तिमान पूर्वकप्तान पारस खड्काको नाममा छ । पारसले नेपालका लागि पाँच शतक प्रहार गरेका थिए । अलराउन्डर पारसको नाममा नेपालका लागि पहिलो एकदिवसीय र पहिलो टी–२० शतक हान्ने कीर्तिमान पनि छ ।

नेपालका लागि एकै इनिङमा सर्वाधिक रन प्रहार गर्ने कीर्तिमान रोहितकुमार पौडेलको नाममा छ । रोहितले गत शुक्रबार पपुवा न्युगिनीविरूद्ध १२६ रन जोडेका थिए । यसअघि यो कीर्तिमान पारस खड्का र सुवास खकुरेलको संयुक्त नाममा थियो। दुवैले एकै इनिङमा ११५ रन बनाएका थिए ।

पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र अनिल मण्डलले नेपालका लागि दुई दुई शतक हानेका छन् । बाँकी सात शतक सात फरक खेलाडीले हानेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको ६ वर्षपछि नेपालले पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गर्न सकेको थियो । नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय शतक पूर्वकप्तान राजु खड्काले प्रहार गरेका थिए ।

खड्काले सन् २००३ मा नेपालका लागि पहिलो शतक प्रहार गर्ने कीर्तिमान बनाएका थिए । यस्तै शक्ति गौचन, शरद भेषावकर र सुवास खकुरेलले पनि नेपालका लागि अन्तर्राष्ट्रिय शतक प्रहार गरेका छन् । सन् २०२२ मा नेपालले एक टी–२० शतक र दुई एकदिवसीय शतक प्रहार गरिसकेको छ ।

अघिल्लो महिना राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गरेका थिए । आइसिसी टी–२० विश्वकप छनोटमा कुशलले फिलिपिन्सविरुद्ध नटआउट १०४ रन जोडेका थिए। जससँगै उनी टी–२० मा शतक हिर्काउने नेपालका तेस्रो खेलाडी बनेका थिए ।

शनिबार सकिएको पपुवा न्युगिनीविरूद्धको दुई खेलको एकदिवसीय सिरिजमा नेपालले दुई शतक प्रहार गर्दै कीर्तिमान बनायो । नेपालले एकै सिरिजमा पहिलो पटक दुई शतक हिर्काएको हो ।

नेपालले एकै वर्ष तीन अन्तर्राष्ट्रिय शतक प्रहार गरेको यो दोस्रो पटक हो । यसअघि सन् २०१२ र २०१९ मा पनि नेपालले तीन अन्तर्राष्ट्रिय शतक प्रहार गरेको थियो । यो रेकर्ड सन् २०२२ मा भंग हुने सम्भावना भने बाँकी नै छ ।

सन् २०१४ को टी–२० विश्वकप खेलेपछि टी–२० मान्यता पाएको बेला र तीन वर्षअघि आइसिसीले सबै टी–२० प्रतिस्पर्धालाई टी–२० अन्तर्राष्ट्रियको मान्यता दिएपछि नोपलले अहिलेसम्म तीन टी–२० अन्तर्राष्ट्रिय शतक प्रहार गरेको छ । नेपालका लागि टी–२० अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने खेलाडी पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेल हुन् ।

नेपालका अन्तर्राष्ट्रिय शतक

१. सन् २००३ मा राजु खड्काले भुटानविरुद्ध एसिसी इमर्जिङ नेसन्स प्रतियोगितामा १०५ रन बनाए ।

२. त्यस्तै शक्ति गौचनले सन् २००५ मा इटालीविरुद्ध आइसिसी विश्वकप छनोट सिरिजमा १०६ रन बनाए ।

३. शरद भेषावकरले २०१० मा फिजिविरुद्ध आइसिसी विश्व क्रिकेट लिग डिभिजनमा १०५ रन बनाए ।

४. सुवास खकुरेलले २०१२ मा अमेरिकाविरुद्ध आइसिसी विश्व क्रिकेट लिग डिभिजन खेलमा ११५ रन बनाए ।

५. अनिल मण्डलले २०१२ मा डेनमार्कविरुद्ध आइसिसी विश्व क्रिकेट लिग डिभिजन ४ मा ११३ रन बनाए ।

६. पारस खड्काले २०१२ मा कुवेतविरुद्ध एसिसी ट्रफी एलाइट प्रतियोगितामा १०६ रन बनाए ।

७. ज्ञानेन्द्र मल्लले २०१४ मा सिंगापुरविरुद्ध आइसिसी विश्व क्रिकेट लिग डिभिजन ३ प्रतियोगितामा ११४ रन बनाए ।

८. अनिल मण्डलले २०१५ मा स्कटल्याण्डविरुद्ध आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा १०० रन बनाए ।

९. पारस खड्काले २०१६ मा नामिबियाविरुद्ध आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा १०३ रन बनाए ।

१०. फेरि पारस खड्काले २०१८ मा यूएईविरुद्ध आइसिसी विश्व क्रिकेट लिग डिभिजन टू मा ११२ रन बनाए ।

११. त्यस्तै पारस खड्काले २०१९ मा यूएईविरुद्ध नेपाल र युएईबीचको एकदिवसीय सिरिजमा ११५ रन बनाए ।

१२. सन् २१९ मा नै पारस खड्काले सिंगापुरविरुद्ध सिंगापुर ट्राई नेशन टी–२० सिरिजमा १०६ रन बनाए ।

१३. ज्ञानेन्द्र मल्लले २०१९ मा भुटानविरुद्ध १३औं दक्षिण एसियाली खेलकुद (टी–२० फर्म्याटमा १०७ रन बनाए ।

१४. त्यस्तै कुशल भुर्तेलले २०२२ मा फिलिपिन्सविरुद्ध आइसिसी टी–२० विश्वकप छनोटमा १०४ रन बनाए ।

१५. रोहित पौडेलले २०२२ मा पपुवा न्युगिनी(पिएनजी)विरुद्ध नेपाल र पिएनजीबीचको एकदिवसीय सिरिजमा १२६ रन बनाए ।

१६. दीपेन्द्रसिंह ऐरीले २०२२ मा पपुवा न्युगिनी(पिएनजी) विरुद्ध नेपाल र पिएनजीबीचको एकदिवसीय सिरिजमा १०५ रन बनाए ।