हालसम्म नेपालमा डेंगुको कारण २७ जनाको ज्यान गयो

काठमाडौं । देशभरी आक्रामक रुपमा फैलिइरहेको डेंगुका कारण २७ जनाको ज्यान गईसकेको छ । हिजो शुक्रबारसम्म यस रोगबाट संक्रमित हुनेको संख्या भने २१ हजार पुगेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडि) का निर्देशक डा. चुमनलाल दासले महाशाखाले स्वास्थ्य मन्त्रालयमा डेंगु प्रकोप घोषणा गर्ने सम्बन्धमा प्रस्ताव पठाइसकेको जानकारी दिए ।

प्रस्ताव पठाए पनि मन्त्रालयबाट महामारी घोषणा गर्ने नगर्ने भन्ने विषयमा कुनै निर्णय आई नसकेको उनले जानकारी दिए । पछिल्लो समय तीव्र गतिमा डेंगु सङ्क्रमण बढ्दैगएकाले डेंगु नियन्त्रण बाहिर जाने भन्दै स्वास्थ्य विज्ञहरूले डेंगुलाई महामारी घोषणा गर्न सुझाव दिंदै आएका छन् । सोही सुझाव अनुसार ईडिसिडिले मन्त्रालयमा प्रस्ताव पेस गरेको हो ।

ईडिसिडिको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा २१ हजार ३५२ जनामा डेंगु पुष्टि हुनु यो सङ्क्रमण नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी हो ।

सरकारले ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान ल्याएको छ । तर यो अभियान घर–घरमा संक्रमित हुनबाट जोगाउनु र वृद्धि विकासमा रोक लगाउनु उपयुक्त उपाए भए पनि व्यवहारमा लागु हुन नसकेको विज्ञको तर्क छ । यसअघि, सन् २०१९ मा डेंगु प्रकोपको रूपमा फैलिएको थियो । सोही समयमा ६५ जिल्लाबाट १७ हजारभन्दा बढीमा डेंगु पुष्टि हुनुका साथै ६ जनाको मृत्यु भएको थियो ।

डेंगुको सङ्क्रमण सबैभन्दा धेरै बागमती प्रदेशमा १६ हजार २३६ जनामा भएको छ । यस्तै, लुम्बिनीमा दुई हजार ७४३, प्रदेश १ मा ५८५, सुदूरपश्चिममा ७५८, गण्डकीमा ४९६, मधेश प्रदेशमा ३०५ र कर्णाली प्रदेशमा २२९ जनामा डेंगु पुष्टि भएको छ ।

जिल्ला अन्तर्गत सबैभन्दा बढी काठमाडौंमा ६ हजार ५५५, ललितपुरमा पाँच हजार २१८, मकवानपुरमा दुई हजार ११२, दाङमा एक हजार २१५, भक्तपुरमा ८८१, रुपन्देहीमा ७००, चितवनमा ५०६, धादिङमा ३९९, गुल्मीमा २९२, कैलालीमा २९८ गरी १० जिल्लामा सबैभन्दा बढी १८ हजार १७६ जनामा डेंगु पुष्टि भएको छ ।