ट्रायलमा फेल भएका ६२ जना चालकले सेटिङमा लाईसेन्स लिएपछि अख्तियारले थाल्यो छानबिन

काठमाडौं । फेल भएका ६२ जनाले लाइसेन्स पाएको घटनामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन सुरू गरेको छ।

हेभी सवारीसाधन (जी समूह) चालकको लाइसेन्स परीक्षामा यातायात व्यवस्था कार्यालय, वीरगन्जमा फेल भएका ६२ जनाले लाइसेन्स पाएको घटनामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयले छानबिन सुरू गरेको हो।

गत जेठ र असारका विभिन्न मितिमा ट्रायल परीक्षामा अनुत्तीर्ण भएका ६३ जनामध्ये ६२ जनाले लाइसेन्स पाएको समबन्धमा सेतोपाटीले लेखेको समाचारको आधारमा अनुसन्धान थालिएको अख्तियारको बर्दिबास कार्यालयका प्रमुख गोपाल कुमार अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार समाचारमा उल्लेखित अवधिमा वितरण गरिएको लाइसेन्स विवरण जनकपुर र वीरगञ्ज दुवै यातायात व्यवस्था कार्यालयबाट लिइएको छ। बिहीबारै अख्तियारको टोलीले कार्यालय पुगेर उक्त विवरण लिएको हो।

‘त्यस अवधिमा कति जनालाई कुन मितिमा हेभी लाइसेन्स दिइएको छ त्यो विवरण लिएर हामीले अनुसन्धान गरिरहेका छौँ,’ उनले भने।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार जनकपुर यातायात कार्यालयबाट तीन वर्षअघि हटाइएका कम्प्युटर अपरेटर मुकेशकुमार बर्माको युजर आइडीबाट ती परीक्षार्थी उत्तीर्ण भएको देखाइएको थियो।

२०७९ जेठ २६ गते राति १० बजेर १० मिनेटमा एकै दिन ४२ जनालाई उनको आइडीबाट उत्तीर्ण देखाइएको छ। उनीहरू ट्रायलमा अनुत्तीर्ण भएका थिए।

यस्तै, जेठ ३० गते राति १० बजेर १२ मिनेटमा १४ जना, असार १९ गते राति १ बजेर २ मिनेटमा ५ जना र २०७८ माघ १० गते साँझ सवा ७ बजे १ जनालाई उत्तीर्ण देखाइएको छ। रोहित महतो सेतोपाटी