अमेरिकी उच्च अधिकारी भोलि नेपाल आउँदै

काठमाडौँ । कार्यवाहक अमेरिकी सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रुडो भोलि नेपाल भ्रमणमा आउने भएकी छन् । ट्रुडो विश्वव्यापी सार्वजनिक मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री हुन् ।

अमेरिकी विदेश मन्त्रालयका उच्च अधिकारी ट्रुडोले नेपालमा रहँदा मिथ्या सूचना र लोकतन्त्रमा सञ्चारको भूमिकाबारे विभिन्न क्षेत्रका व्यक्तिसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको अमेरिकी विदेश मन्त्रालयले प्रेस विज्ञप्तिमा जनाएको छ ।

अमेरिकाले चीनले नेपालमा अमेरिकी परियोजनाविरुद्ध भ्रमपूर्ण सूचना फैलाएको आरोप लगाइरहेको छ । नेपाल भ्रमणमा आउन लागेकी अमेरिकी वरिष्ठ कूटनीतिज्ञ ट्रुडोले चीनका तर्फबाट अमेरिका र अमेरिकी मान्यताविरुद्ध फैलाइएका मिथ्या सूचनाको प्रतिवाद कसरी गर्न सकिन्छ भन्नेबारे छलफल गर्ने कार्यसूची रहेको छ ।

पछिल्लोपटक नेपालमा अमेरिकाले अघि सारेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाबारे चीनले सामाजिक सञ्जाल र मिडियामार्फत भ्रमणपूर्ण सूचना दिएको आरोप अमेरिकाले लगाएको थियो । तर चीनले उक्त आरोप अस्वीकार गरेको थियो ।