महामारी बन्दै डेंगु, एकैदिन ४ जनाको मृत्यु

काठमाडौं । डेंगुको संक्रमणबाट एकै दिन ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेपछि डेंगुले महामारीको रुप लिन थालेको छ ।

पछिल्लो १८ वर्ष यताकै उच्च संख्यामा फैलिएको डेंगुको कारण साढे २ महिनामा मृत्यु हुनेको संख्या ३६ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार यो वर्ष अहिलेसम्म २७ हजार ५६९ जनामा डेंगु संक्रमण भइसकेको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै डेंगु सक्रमण बागमती प्रदेशमा देखिएको छ। बागमती प्रदेशमा २१ हजार ५८९, लुम्बिनीमा प्रदेशमा ३ हजार ५०, सुदूरपश्चिम प्रदेशमा ८२१ जनामा डेंगु पुष्टि भएको छ ।

त्यसैगरी, गण्डकीमा ६ सय ५३, मधेश प्रदेशमा ४०५ र कर्णाली प्रदेशमा २३६ जनामा संक्रमण देखिएको छ । हालसम्म देशभरका ७६ जिल्लामा डेंगु संक्रमण फैलिएकाले यसलाई ‘प्रकोप’ घोषणा गर्ने तयारी गरेको छ ।

नेपालमा वि.सं.२०६१ सालमा पहिलो पटक एक जनामा डेंगु संक्रमण देखिएको थियो । त्यस यता वार्षिक बढ्दै सन् २०१९ मा १७ हजार ९ सय ९२ जनामा डेंगु संक्रमण देखिएको थियो । त्यतिबेला ६८ जिल्लामा डेंगु फैलिएको थियो भने ५ जनाको मृत्यु भएको थियो ।

प्राय दिउँसोको समय सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने हुनाले, डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न चिकित्सकहरुले सुझाएका छन् ।