युक्रेनका ४ क्षेत्र रुसले औपचारिक रुपमा आज गाभ्दै

काठमाडौं । रुसले युक्रेनका ४ वटा क्षेत्रलाई आज (शुक्रबार) औपचारिक रुपमा गाभ्ने भएको छ ।

मस्कोको रेड स्क्वायरमा आयोजित भब्य समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वीयुक्रेनका दोनेत्स्क, लुहान्स्क, दक्षिण युक्रेनका जापोरिजिया र खर्सोनलाई रुसमा गाभेको औपचारिक घोषणा गर्ने भएका हुन् । त्यसअघि क्रेमलिनको सेन्ट जर्ज हलमा रुसमा गाभिने क्षेत्रका पृथकतावादी नेताहरु र रुसी अधिकारीहरुबीच सम्झौतमा हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ ।

४ दिन अघि रुसले ती क्षेत्रहरुमा जनमत संग्रह गराएको थियो । साेही जनमत संग्रहमा ९० प्रतिशत बढी मत रुसमा गाभिने पक्षमा आएको दावी रुसले गरेकाे थियो । शुक्रबार साँझ रेडस्क्वायरमा नै भब्य साँस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको छ । ४ वटा क्षेत्र गाभिएपछि युक्रेनसँग ओडेसा बन्दरगाह मात्रै बाँकी रहने छ । रुसले सन् २०१४ मा युक्रेनको क्राइमिया क्षेत्र पनि आफूमा गाभेको थियो ।

अर्को साता रुसी संसदका दुवै सदनबाट गाभ्ने निर्णय अनुमोदन गर्ने तयारी पनि भईरहेको छ । यी ४ क्षेत्र रुसमा गाभिदा युक्रेनले भने कुल क्षेत्रफलको १५ प्रतिशत भू–भाग गुमाउने छ । युक्रेन र पश्चिमा देशहरुले भने रुसले गराएको जनमत संग्रहको मान्यता नदिएका युक्रेन र पश्चिमा देशहरुले भने ४ क्षेत्रलाई रुसमा बिलय गराउने निर्णयलाई पनि मान्यता दिएका छैनन् ।