राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रद्वारा काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेद्वारी

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिने घोषणा गरेका छन् । शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले पार्टीको सहमतिसहित आफूले राप्रपाको हलो चिह्न लिएर चुनाव लड्ने घोषणा गरेका हुन् । उनले जनताले आफूलाई निर्वाचित गराएको खण्डमा आजसम्मकै गर्व गर्न सक्ने मध्येको सबैभन्दा सशक्त सांसदको रुपमा संसदमा जनताको आवाज बोल्ने प्रतिबद्धता गरे ।

‘हलो चिह्नमा म काठमाडौं क्षेत्र नम्बर १ को आफ्नो उम्मेदवारी पार्टीको सहमतिसहित यहाँ घोषणा गर्दैछु’, मिश्रले भने, ‘यस पटक म काठमाडौं १ का जतिपनि उपस्थित हुनुहुन्छ र जसले हेरिरहनुभएको छ । म यो सुनिश्चित गराउनु चाहान्छु कि तपाईँहरुले यसपटक मलाई तपाइँहरुकै क्षेत्रमा रहेको संसद भवनमा पठाउनुभयो भने आजसम्मकै तपाईँहरुले गर्व गर्न सक्ने मध्येको सबैभन्दा सशक्त सांसदको रुपमा तपाईँहरूको आवाज संसदमा बुलन्द गर्नेछु ।’