नवौं राष्ट्रिय खेलकुदमा महिला क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले शुक्रबार महिला क्रिकेटको खेल तालिका सार्वजनिक गरेको हो ।

महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । समूह ‘ए’ मा एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश रहेको छ । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश–१ र लुम्बिनी प्रदेश रहेको छ ।

पोखरा क्रिकेट रंगशालामा आयोजना हुने महिला क्रिकेट असोज २३ गतेबाट १ कात्तिकसम्म हुने छ । प्रतियोगिताको पहिलो खेलमा गण्डकी प्रदेश र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुने छ । दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशबीच खेल हुने छ । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुने छ ।