आज बडादशैँको मुख्य दिन, टीका लगाउने साइत ११ बजेर ५१ मिनेट

काठमाडौं । हिन्दू धर्मवालम्बीहरुको महान पर्व बडा दशैँको मुख्य दिन मान्यजनबाट टीका र जमरा लगाइ विजयादशमी पर्व मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ५१ मिनेटलाई तोकेको छ ।

‘सामान्य मानिसले जुनसुकै समयमा टीका लगाए पनि राज्य सन्चालकले भने उत्तम साइतमै टीका लगाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले बताए ।

‘राज्य सञ्चालकले सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकोले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ’, प्राध्यापक अधिकारीले भने ।

टीका र जमरा देवीको प्रसाद भएकाले प्रसाद ग्रहण गर्न आज दिनभरी नै टीका लगाउन शुभ हुने अधिकारीले बताए । आज दिनभर देवीको प्रसाद लगाउने साइत भए पनि दिनभरमध्येमा राम्रो समयको साइत ११ बजेर ५१ मिनेटको दिइएको उनले बताए । समितिले दिएको साइतको समय प्रभावशाली भएकाले सक्नेले यही समयमा टीका लगाए राम्रो हुने उनले बताए । तर टीका लगाउनु अघि देवी विसर्जन भने गर्नैपर्ने उनले बताए ।

देवी विसर्जनको साइतसम्म पनि कुर्न नसकिने अवस्था छ भने सूर्योदयपछि देवी विसर्जन गरेर टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष अधिकारीले बताए ।

टीका लगाउनुअघि आज बिहान १० बजेर ३४ मिनेटमा देवी विसर्जनको साइत तोकिएको छ । विजयादशमीको दिन बिहान नवदुर्गाको फेरि पूजा आराधना गरी जया, विजया, अजिता, अपराजिता गरी चार देवीको पूजा गरेर देवी विसर्जन गरिन्छ ।

कतैकतै पूर्णिमासम्म दशैंको टीका लगाउने चलन छ । पूर्णिमासम्म टीका लगाउँदा पनि केही फरक नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा।डा। गौतमले बताए । ‘देवीको प्रसाद हो, पूर्णिमासम्म लगाउँदा पनि राम्रै हुन्छ,’ उनले भने ।

मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा प्रयोग गरिन्छ ।

घटस्थापना गरिएको पूर्ण कलशबाट अभिषेक गरी नवदुर्गाको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने परम्परा छ । केही जाति र सम्प्रदाय विशेषले भने आज सेतो अक्षताको टीका लगाएर पनि विजयादशमी पर्व मनाउँछन् ।

असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा बडादशैं पर्व मनाउने परम्परा छ ।