आज प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि मनोनयन दर्ता गरिँदै

काठमाडौं । आसन्न संसिर ४ गते सम्पन्न हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज आइतबार उम्मेदवारको मनोनयन दर्ता हुँदै छ ।

निर्वाचन आयोगले शनिबार पत्रकार सम्मेलन गरी उम्मेदवार मनोनयन दर्ताका लागि सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएपछि विभिन्न राजनीतिक दलहरुले आफ्ना उम्मेदवारहरुको नामावली टुंग्याउन अन्तिम कसरत गरिरहेका छन् ।

आयोगले आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म आ–आफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारलाई आग्रह गरेको छ ।

७७ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ १ सय ६५ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ३ सय ३० वटा निर्वाचन क्षेत्रमा उम्मेदवारहरुले आइतबार मनोनयन दर्ता गर्नेछ ।

आयोगले उम्मेदवार मनोनयन दर्ताको दिन सुरक्षा प्रबन्ध मिलाउन सरकारलाई आग्रह समेत गरेको छ । त्यसैगरी आयोगले सबै मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारीहरुलाई मनोनयन दर्ता कार्यक्रमलाई ब्यबस्थित, मर्यादित र भयरहित ढंगले अघि बढाउन आयोगले निर्देशन दिएको छ ।

यता, राजनैतिक दलहरुले निर्वाचन मनोनयन दर्ताका लागि २ दिनको समय माग गरेकोमा निर्वाचन आयोगले भने २ दिनको समय दिन नसकिने स्पष्ट पारेको छ ।

देशभर बर्षा, बाढी पहिरो र डुबानले समस्या हुने भन्दै राजनैतिक दलहरुले मनोनयन दर्ताको समय २ दिनका लागि माग गरेकोमा निर्वाचनले २ दिनको समय दिन अस्वीकार गरेको छ ।