नवौँ राष्ट्रिय खेलकुद : फुटबलमा सुदूरपश्चिम प्रदेश विजयी

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलको आजको खेलमा सुदुरपश्चिम प्रदेश विजयी भएको छ । पोखरा–१९ लामाचौरस्थित गोस्तेघाट खेल मैदानमा भएको समूह ‘डी’ खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशमाथि ५–३ गोलको सानदार जीत निकालेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफमा कर्णाली सम्हालिन नसक्दा हार व्यहोर्न बाध्य भएको हो ।

खेलको ३८औँ मिनेटमा कर्णालीका करण रावतले आत्मघाती गोल गरेपछि सुदुरपश्चिम १–० को अग्रतामा रह्यो । पहिलो हाफमा १–० ले रोकिएको खेलको दोस्रो हाफमा कुल सात गोल भयो । खेलको ५८औँ मिनेटमा ज्ञानेन्द्र जोशीले गोल गर्दै सुदूरपश्चिमको अग्रता दोब्बर पारे । खेलको ६२औँ मिनेटमा कर्णालीका विकेश सन्तोषीले गोल गर्दै २–१ को स्थितिमा खेल पु¥याए ।

दोस्रो हाफको ७७औँ मिनेटमा कुवेर सिंहले गोल गर्दै ३–१ बनाएपछि कर्णाली दबाबमा परेको थियो । खेलमा ८४औँ मिनेटमा कर्णालीका विकेशले व्यक्तिगत दोस्रो गोल गर्दै ३–२ को स्थितिमा खेल पु¥याउँदै टोलीलाई खेलमा फर्काउने प्रयास गरे ।

त्यसको दुई मिनेट पश्चात सुदूरका शसाङ्क बोहोराले गोल गर्दै अन्तर फराकिलो बनाए । खेलको ९४औँ मिनेटमा दिरेन्द्र शाहले गोल गर्दै जीत निश्चित गराए । त्यसको एक मिनेटपछि कर्णालीका विकेशले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पूरा गरे पनि टोलीलाई जीत दिलाउन सकेनन् ।

प्रतियोगिता अन्तरगत शनिबार दुई खेल हुनेछन् । समूह ‘बी’ अन्तरगत मधेश प्रदेश र शसस्त्र प्रहरी बलको एपिएफ क्लबबीच पहिलो तथा समूह ‘ए’ अन्तरगत प्रदेश–१ र गण्डकी प्रदेशबीच दोस्रो खेल हुने खेल तालिका छ ।