किसानलाई अलैंचीको उचित मूल्य नआउँदा चिन्ता

बाग्लुङ । मुलुक चाडबाड र निर्वाचनको माहोलमा रमाइरहेको समयमा बागलुङका किसान भने अलैंची टिप्न व्यस्त छन् । व्यस्तताका बीच पनि किसानहरुलाई दुःख गरी उब्जाएको अलैंचीले बजारमा उचित मूल्य नपाउने हो कि भन्ने चिन्ताले समेत पिरोलेको छ ।

अलैंचीको मूल्य घट्न थालेपछि बागलुङका किसान मर्कामा परेको गलकोट नगरपालिका–१ का ‘अलैँची ब्लक’ सञ्चालक समितिका संयोजक जीवन भण्डारीले बताए । “यो वर्ष अलैंचीको मूल्य गत वर्षको तुलनामा घटेको छ”, उनले भने, “एकातिर रोग, किराको प्रकोपले उत्पादन घटेको छ भने अर्कोतिर उचित मूल्य नपाउने स्थिति बनेको छ ।”

किसानहरुले २०७८ सालमा प्रतिकेजी रू १ हजार २ सयमा अलैंची बिक्री गरेका थिए भने २०७७ सालमा भने वर्ष प्रतिकेजी रु छ सयमा अलैँची बिक्री गरेका थिए । गलकोट–१ दुदिलाभाटीमा एक सयभन्दा बढी किसान अलैँची खेतीमा आबद्ध छन् । उनीहरुले करिब पाँच सय रोपनी क्षेत्रफलमा अलैँची खेती गर्दै आएका छन् । गत वर्ष अलैंची बिक्री गरी रु २३ लाख आम्दानी गरेका बरेङ गाउँपालिका–२ हुग्दिशिरका किसान यसवर्ष मूल्य घटेको सुनेर बेखुस छन् । अलैँची टिप्ने चटारोबीच उनीहरुलाई पनि मूल्यको पिरलो थपिएको छ ।

बरेङस्थित नमूना अलैँची उत्पादक कृषक समूहका अध्यक्ष बिमल पौडेलले खरिदकर्ताहरु भने अझै आइनपुगेको बताए । “तिहारअघि अलैँची टिपेर सकिन्छ, कतिपय किसानले सुकाइसकेर पनि बेच्न ठिक्क पारेका छन्”, उनले भने, “अहिलेसम्म व्यापारी आइपुगेका छैनन्, त्यसमाथि मूल्य पनि घटेको सुन्नमा आएको छ ।” अलैंची​ व्यापारीबीचको अस्वस्थ प्रतिस्पर्धा बढ्दा मूल्य अस्थिर हुने गरेको अध्यक्ष पौडेलको भनाइ छ ।

बरेङमा १९ जना किसानले दुई सय रोपनीमा अलैँची खेती गर्दै आएका छन् । किसानहरुले प्रत्येक वर्ष झण्डै २० क्विन्टल जति अलैँची उत्पादन गर्छन् । जसबाट राम्रो मूल्य पाएको वर्षमा किसानले रु ५ लाखसम्म आम्दानी गरेको किसान तुलसीराम पौडेलले बताए । ताराखोला गाउँपालिका–१ स्थित राष्ट्रिय अलैँची कृषि उपज केन्द्रका अध्यक्ष इन्द्रध्वज भण्डारीले अलैंचीको बजारमा बिचौलिया हावी भएको आरोप लगाए । “मूल्य बढ्ला र बेचौँला भनि बस्यो तर अन्तिममा जिल्ल पर्ने अवस्था आउँछ, रोग, किरा र जीवजन्तु लागेर पनि हामीलाई हैरान छ”, उनले भने ।

केन्द्रका अध्यक्ष भण्डारीले दुम्सी, भार्से जस्ता जन्तुले समेत अलैँची खेतीमा असर गरेको बताए । “दुम्सीले सँधै बाली नोक्सान गरी दुःख दिन्छ, दुम्सीले खाएर बचेको अलैँची मात्रै हामीले टिप्ने हो”, उनले भने, “वन्यजन्तु र रोगबाट बचाउन सके अलैँची उत्पादन बढाउन सकिन्छ ।” भण्डारी नौ वर्षदेखि अलैँचीको व्यावसायिक खेतीमा संलग्न छन् । केन्द्रले सय रोपनी क्षेत्रफलमा अलैँची उत्पादन गर्दै आएको छ । अलैँची बेचेर वार्षिक रु आठ लाखसम्म कमाइ हुने गरेको अध्यक्ष भण्डारीको भनाइ छ । ताराखोलामा पनि अलैँचीको ‘ब्लक’ कार्यक्रम सञ्चालित छ । कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले अन्तर्राष्ट्रिय बजारमा माग बढ्दा नेपाली अलैँचीले उचित मूल्य पाउने र माग घट्दा मूल्य पनि ओरालो लाग्ने गरेको बताए ।

“राम्रो मूल्य पाएपछि किसानले उत्पादन बढाउनतिर लाग्छन्, व्यापारीले पछि फेरि मूल्य घटाउँछन् जसले गर्दा किसानलाई मर्का पर्ने गरेको छ”, केन्द्रका प्रमुख भट्टराईले भने । उनका अनुसार बागलुङमा अलैंचीको व्यावसायिक उत्पादनका लागि ११ ‘पकेट’ र दुई ‘ब्लक’ क्षेत्र घोषणा गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सञ्चालित ती कार्यक्रममार्फत् किसानले अलैँची खेतीमा अनुदान र तालीम पाएका थिए । जिल्लामा अहिले १२ सय हेक्टरमा अलैँची खेती भइरहेको जनाइएको छ ।

अलैँची रोप्नेदेखि, गोडमेल, स्याहारसुसार, टिप्ने, सुकाउने काममा किसानको धेरै समय, श्रम र लगानी हुन्छ । बजारको अनिश्चिततासँगै लगानी अनुसारको प्रतिफल नपाए अलैँची खेतीबाट पलायन हुने स्थिति आउने किसान बताउँछन् । नेपाली अलैँची काठमाडौं हुँदै भारत, बङ्गलादेशलगायतका ठाउँमा निर्यात हुन्छ । कतिपयले सिधै पूर्वी नाका काँकडभिट्टा पु¥याएर भारतीय व्यापारीलाई अलैँची बेच्छन् । नेपाली अलैँची मसला, सौन्दर्य सामग्री, आयुर्वेदिक औषधिलगायतमा प्रयोग हुन्छ ।