सुडानमा जातीय हिंसामा परी १५० को मृत्यु, सय जना घाइते

काठमाडौं । अफ्रिकी मुलुक सुडानमा पछिल्ला दुई दिनमा भड्किएको जातीय हिंसामा करिब डेढ सय जना मानिसको मृत्यु भएको छ ।

सुडानको दक्षिणी ब्लुनाइल राज्यमा जग्गाको स्वामित्व सम्बन्धि विवादमा झडप हुँदा ठूलो संख्यामा मानिसहरुको मृत्यु भएका हुन । मृत्यु हुनेमा महिला, बालबालिका र वृद्ध(वृद्धाहरु धेरै रहेको स्थानीय अस्पतालले जनाएको छ । सोही घटनामा करिब १ सय जना मानिसहरु घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल भर्ना गरिएको जनाइएको छ ।

सुडानको राजधानी खार्तुमबाट ५ सय किलोमिटर दक्षिणमा पर्ने उक्त राज्यमा गाउँलेहरुका घरमा आगो लगाइनुका साथै मनोमानी ढंगले गोली प्रहार गरेर हत्या गरिएको जनाइएको छ । गत साता पनि उक्त क्षेत्रमा करिब २ सय जना मानिसको मृत्यु भएको थियो । साथै ३ सय बढी मानिस घाइते भएको राष्ट्रसंघीय अधिकारीहरुले बताएका छन् ।

सोही क्षेत्रमा हौसा र बेर्टा समूदायबीच जग्गाको स्वामित्वलाई लिएर बारम्बार झडपहरु हुँदै आएको छ ।