मूल्य वृद्धि दोब्बरले बढ्दा ९ प्रतिशत पुग्यो

काठमाडौं । मूल्य वृद्धि उकालो लागेर ९ प्रतिशत नजिक पुगेको छ ।

चालु आर्थिक वर्षको दोस्रो अर्थात् भदौ महिनामा मूल्य वृद्धि अघिल्लो वर्षको यसै अवधिको तुलनामा दोब्बर बढी पुगेर ८ दशमलब ६४ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको हो ।

अघिल्लो भदौमा मूल्य वृद्धि ३ दशमलब ४९ प्रतिशत रहेको थियो । यही वर्षको साउनमा मूल्यवृद्धि ८ दशमलब २६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८ प्रतिशतमाथि र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९ प्रतिशत नाघेको छ । खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत फलफूल, घ्यू तथा तेल, रेष्टुरेण्ट तथा होटलका खाना, मदिराजन्य पेय पदार्थ र तरकारी सबैको मूल्य १० देखि १७ प्रतिशतसम्म महँगो भएका छन् ।

आयात बढ्दा विदेशी मुद्रा सञ्चिति थप दबाबमा परेको छ । एक महिनाको अवधिमा विदेशी मुद्रा सञ्चिति ८ अर्ब बराबर घटेको हो । भदौ मसान्तमा विदेशी मुद्रा सञ्चिति ११ सय ८९ अर्ब १६ करोड कायम भएको हो, जबकी साउनमा ११ सय ९७ अर्ब ८५ करोड कायम भएको थियो । यस अवधिमा निर्यात ३४ दशमलव ९ प्रतिशतले कमी आई २८ अर्ब ६८ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १ सय १५ प्रतिशतले वृद्धि भएको थियो । यस अवधिमा कुल वस्तु आयात १३ प्रतिशतले कमी आई २ सय ७३ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७६ प्रतिशत बराबरले बढेको थियो । दुई महिनामा कुल वस्तु व्यापार घाटा ९ दशमलब ४ प्रतिशतले कमी आई २ सय ४४ अर्ब ९२ करोड पुगेको छ ।

अघिल्लो वर्षको यसै अवधिमा यस्तो घाटा ७० प्रतिशतले बढेको थियो । यस अवधिमा विप्रेषण आप्रवाह १९ दशमलव ८ प्रतिशतले वृद्धि भई १ सय ८७ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह करिब ६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा चालु खाता ३७ अर्ब १८ करोडले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ सय ६ अर्बले घाटामा रहेको थियो । अघिल्लो महिनाको तुलनामा भने चालु खाता दोब्बर बढीले उकालो लागेको छ । साउनमा चालु खाता १६ अर्ब २६ करोडले घाटामा रहेको थियो । यस अवधिमा शोधनान्तर स्थिति २३ अर्ब ६८ करोडले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९४ अर्ब ८० करोडले घाटामा रहेको थियो । अघिल्लो महिनाको तुलनामा भने शोधनान्तर घाटा अर्ब बढीले बढेको हो । साउनमा शोधनान्तर स्थिति २२ अर्ब ६३ करोडले घाटामा रहेको थियो ।