कैलालीमा छ जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा

कैलाली । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलालीमा छ जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा क्षेत्र नं २ बाहेक चार निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनकोतर्फबाट दुई, नेकपा (एमाले)बाट तीन र स्वतन्त्र एक गरी छ जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

निर्वाचन क्षेत्र नं १ मा सत्तागठबन्धनबाट पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता रामजनम चौधरी, क्षेत्र नं ४ मा सत्तागठबन्धनबाट पूर्वमन्त्री एवं कांग्रेसका प्रदेशसभापति वीरबहादुर बलायर चुनावी मैदानमा छन् । विसं २०७४ को निर्वाचनमा चौधरी कैलाली क्षेत्र नं ३ र बलायर डोटीबाट वाम–गठबन्धनका उम्मेदवारसँग पराजित भएका थिए । चौधरी र बलायर यसपटक पाँचदलीय गठबन्धनको सहारामा निर्वाचन जित्ने दाउमा छन् । चौधरी उम्मेदवार भएको क्षेत्र नं १ मा एमाले तर्फबाट तपेन्द्र रावल र नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ अहिले उनका प्रतिस्पर्धी छन् । बलायर उम्मेदवार भएको क्षेत्र नं ४ मा एमाले सचिव एवं पूर्वमन्त्री लेखराज भट्ट मुख्य प्रतिस्पर्धी छन् । भट्ट २०७४ को प्रतिनिधिसभा निर्वाचनमा वाम–गठबन्धनका तर्फबाट विजयी बनेका थिए । भट्ट जीतलाई निरन्तरता दिने दाउमा छन् भने बलायर सत्तागठबन्धनको मतबाट जित्ने दाउमा छन् ।

त्यसैगरी कैलाली निर्वाचन क्षेत्र नं ३ मा एमालेका नेता एवं पूर्वमन्त्री गौरीशङ्कर चौधरी चुनावी मैदानमा छन् । विसं २०७४ को निर्वाचनमा उनले वाम–गठबन्धनबाट नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रामजनम चौधरीलाई पराजित गरेका थिए । एमाले नेता चौधरीसँग उनका पूर्वसहकर्मी माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णकुमार चौधरी प्रतिस्पर्धा गर्दैछन् । एमालेका चौधरी जीतलाई निरन्तरता दिने रणनीतिमा छन् भने माओवादी केन्द्रका चौधरी माओवादीको विरासत कायम राख्ने दाउमा छन् । सो निर्वाचन क्षेत्रमा २०६४ देखि माओवादीले जित्दै आएको क्षेत्र हो ।

विसं २०७४ को निर्वाचनमा वाम–गठबन्धनको समर्थनमा निर्वाचन जितेका चौधरी यसपटक एमालेका उम्मेदवार छन् भने माओवादीका चौधरीलाई सत्तागठबन्धनको समर्थन छ । थारु बाहुल्यता रहेको सो निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरी उम्मेदवार छन् । उक्त निर्वाचन क्षेत्रमा पूर्वमन्त्री चौधरी, सत्तागठबन्धनका गौरीशङ्कर र नागरिक उन्मुक्तिका गङ्गारामबीच प्रतिस्पर्धा हुँदैछ । त्यसैगरी कैलाली निर्वाचन क्षेत्र नं ५ मा एमालेका नेता एवं पूर्वमन्त्री नारदमुनि राना र कांग्रेसका पूर्वराज्यमन्त्री पुष्करनाथ ओझा स्वतन्त्रबाट चुनावी प्रतिस्पर्धामा छन् । सत्तागठबन्धबाट नेपाली कांग्रेसका डिल्लरिाज पन्त उम्मेदवार छन् ।

विसं २०७४ को निर्वाचनमा एमालेका उम्मेदवार नारदमुनि रानाले कांग्रेस नेत्री आरजु राणा देउवालाई पराजित गरेका थिए । त्यसबेला राना वाम–गठबन्धनबाट विजयी बनेका थिए । यसपटक कांग्रेसका उम्मेदवार पन्तलाई सत्तागठबन्धनले साथ दिएको छ भने एमाले उम्मेदवार राना पार्टीको एकल उम्मेदवार छन् । यो निर्वाचन क्षेत्रमा सत्तागठबन्धन र एमाले उम्मेदवार रानालाई स्वतन्त्र उम्मेदवार ओझा चुनौतीका रुपमा देखा परेका छन् । सत्तागठबन्धनको मत स्वतन्त्रले काट्ने आँकलनले राना जीतलाई निरन्तरता दिने दाउमा छन् भने सत्तागठबन्धनका उम्मेदवार पन्त पाँचदलीय र एमालेभित्रको आन्तरिक किचलो फाइदा उठाउँदै चुनाव जित्ने दाउमा छन् ।