काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा (एमाले)का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । अध्यक्ष ओलीलाई संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपति पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रपतिले प्रतिनिधि सभाका सदस्य केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।
प्रचण्डले सदनबाट प्रधानमन्त्री पद गुमाएलगत्तै राष्ट्रपति पौडेलले शुक्रबार प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । सो समय आइतबार अपरान्ह ५ बजेसम्म निर्धारण गरिएको थियो । निर्धारित समयभित्र प्रतिनिधि सभाका प्रमुख दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रधानमन्त्रीमा ओलीलाई नियुक्त गर्न आग्रह गर्दै संयुक्त रूपमा राष्ट्रपतिसमक्ष दाबी पेस गरेका थिए ।
अध्यक्ष ओली कांग्रेसको प्रस्ताव र सहयोगमा नयाँ गठबन्धनबाट प्रधानमन्त्रीमा सिफारिस हुनुभएपछि राष्ट्रपति पौडेलले उनलाई सो पदमा नियुक्त गरेका हुन् । प्रधानमन्त्रीमा नियुक्त भएका ओलीको पद तथा गोपनीयताको शपथ सोमबार बिहान ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ । सोमबार नै सानो आकारको मन्त्रिपरिषद् गठन हुनेछ । कांग्रेस र एमालेले आफ्नो दलबाट मन्त्रीमा पठाउनेको नाम टुङ्गो लगाएको दलका नेताले बताएका छन् ।
प्रधानमन्त्रीमा चौथो कार्यकालका लागि नियुक्त हुनुभएका अध्यक्ष ओली यसअघि २०७२ असोज २५ मा प्रथम पटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सो कार्यकाल करिब १० महिना अर्थात् २०७३ साउन १९ गतेसम्म कायम रह्यो । त्यस्तै, दोस्रो पटक ओली २०७४ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सो कार्यकाल ३ वर्ष ९ महिना अर्थात् २०७८ वैशाख ३० गतेसम्म कायम रह्यो ।
सोहीअनुसार प्रधानमन्त्रीमा उनको तेस्रो कार्यकाल २०७८ वैशाख ३० देखि २०७८ असार २९ अर्थात् दुई महिना प्रधानमन्त्रीमा कायम रह्यो । तत्कालीन नेकपामा विभाजन आएपछि उनी पुनः प्रधानमन्त्रीमा नियुक्त भएका थिए । अहिले चौथो कार्यकालका लागि २०८१ असार ३० गते उनी प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
प्रधानमन्त्रीमा नियुक्त ७१ वर्षीय ओलीको राजनीतिक सङ्घर्ष लामो छ । वि.सं. २००८ साल फागुन ११ गते तेह्रथुमको आठराई इवा गाउँको एक किसान परिवारमा जन्मिएका ओली पटक–पटक गरी १४ वर्षसम्म जेल बसेका छन् । उनको खास नाम खड्गप्रसाद ओली भए पनि राजनीतिमा उनलाई केपी शर्मा ओलीको नामले चिनिन्छ ।