आज साउने सङ्क्रान्ति, लुतो फाल्ने दिन

काठमाडौँ । आज साउने सङ्क्रान्ति, देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदै छ । यस वर्षको साउने सङ्क्रान्ति आषाढ शुक्ल दशमी मङ्गलबार (जुलाई १६ तारिख) परेको छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ ।

माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेषरुपमा मनाइन्छ । आज बेलुका लुतो फाल्ने चलन पनि छ । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नास्पाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फाल्दै लुतो लैजा भन्ने गरिन्छ ।

लुतो फाल्दा आ–आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ । असार महिनामा धेरैजसो खेतीमा व्यस्त हुने हुँदा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठिक गर्न लुतो फाल्ने गरिन्छ । यस्तै, साउन महिनालाई विशेषरुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ ।

महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको पनि देखाउने गरिएको छ । साउन महिनाभर देशभरका शिवालय विशेष गरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ ।