सभापति देउवा भन्छन्, सरकारले अधिनायकवाद शुरु गर्याे

चितवन (पास)– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद शुरु गरिसकेको आरोप लगाएका छन् ।

भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै उनले मनोमानी ढंगले सरकारले काम गरिरहेको बताए ।

उनले भने, ‘सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ । अधिनायकवाद शुरु भइसक्यो । मनोमानी बढ्यो ।’ अर्को प्रश्नमा व्यङ्ग्य गर्दै सभापति देउवाले भने, ‘अब विकास गर्छन्, अधिनायकवादको ।’

सरकारको एक सय दिन हनिमुन समय भएको भन्दै उनले काम हेर्ने बताए । ‘शुरुकै कामबाट धड्काधड्की विकास भएको छ,’ उनले व्यङ्ग्य गर्दै भने, ‘कुनै किसिमको सरसल्लाह छैन, आफ्नै तरिकाले गरेका छन्, काम गर्न सकेका छैनन् ।’

पार्टी कमजोर भएको छ नि भन्ने प्रश्नमा उनले दुईवटा पार्टी मिलेपछि निर्वाचनमा जित हार हुने कुरा स्वाभाविक भएको बताए । उनले प्रजातन्त्रको रक्षाका लागि लड्ने र प्रजातन्त्रको मूल्य मान्यताअनुसार जनताको अधिकारका लागि काँग्रेस लडिरहने बताए ।