कहीँ फलिफाप, कहीँ उही हाल

म्याग्दी, (रासस)– देशमा भएको राजनीतिक परिवर्तन र शान्ति स्थापनासँगै म्याग्दीका ग्रामीण भेगमा स्वःस्फुर्तरूपमा देखिएको कृषि क्रान्तिले सकारात्मक लक्षण देखाउन शुरु गरेको छ ।

गाउँलेहरू व्यावसायिक कृषि, पशुपालन र घरेलु तथा साना उद्योगबाट आत्मनिर्भरतातर्फ उन्मुख हुन थालेपछि म्याग्दीमा आर्थिक समृद्धिका संकेत देखिन थालेका सरोकारवालाले बताएका छन् ।

जिल्लाका ग्रामीण भेगका बासिन्दा व्यावसायिकरूपमा तरकारीखेती, पशुपालन र आयआर्जन हुने काममा लागेर ‘गाउँमा बसेर केही गर्न सकिँदैन’ भनी विदेश पलायन हुनेहरूको भन्दा बढी आम्दानी गर्न थालेका जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

बेनी नगरपालिकासहित मंगला, मालिका, धौलागिरि, अन्नपूर्ण र रघुगंगा गाउँपालिकामा कृषि र पशुपालनमार्फत स्थानिय बासिन्दामा आएको सकारात्मक परिवर्तनलाई ‘स्वःतस्फुर्तरूपमा भएको कृषि क्रान्ति’ को संज्ञा दिँदा फरक नपर्ने कृषि वैज्ञानिक टीकाबहादुर कार्की बताउँछन् ।

केही वर्षअघिसम्म परम्परागत कृषिलाई ‘निर्वाहामुखी खेतीपाती’ भनिने गरेकामा अहिले आधुनिक प्रविधि, बीउबिजन र व्यावसायिक उद्देश्यका साथ खेती गर्न थालिएपछि दोब्बर उत्पादन र पर्याप्त आम्दानी गर्न किसान सफल भएका छन् । प्रविधि र बजारीकरणमा पहुँच भएका तथा कृषिको व्यावहारिक ज्ञान पाएका कृषकले उल्लेख्य सफलता पाए पनि विकट गाउँका कृषक भने परम्परागत कृषि प्रणालीमै अल्झिएको पाइएको छ ।

जिल्लाका लुलाङ, मुदी, मुना, बिम, गुर्जालगायतका गाउँमा अहिलेसम्म पनि व्यावसायिक खेतीको शुरुआत हुनुसकेको छैन । यातायातका साधन सञ्चालन नहुँदा, स्थानीयवासीमा प्राविधिक चेतनाका साथै व्यावसायिक खेतीप्रतिको अनभिज्ञता, दुर्गम भौगोलिक धरातललगायतका कारण ती क्षेत्रमा अहिलेसम्म पनि निर्वाहमुखी खेतीकै भर पर्नुपरेको स्थानीयवासीको गुनासो छ ।

भौगोलिक विकटताकै कारण आलु, स्याउलगायतका नगदे तरकारी तथा फलफूलको प्रचुर सम्भावना रहे पनि व्यावसायिक खेतीको आकार दिन नसकिएको गुर्जाका किसान रिद्धबहादुर छन्त्याल बताउँछन् ।

सडक पुगेका शिख घारजस्ता केही गाउँमा पनि प्राविधिक तथा आधुनिक खेतीप्रतिको ज्ञान नहँुदा किसान आलुखेतीमा मात्र सीमित छन् । जिल्लाका अधिकांश क्षेत्रमा सुन्तला खेती भएको र माथिल्लो क्षेत्रका केही भागमा आलु उत्पादन पर्याप्त हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

आधुनिक प्रविधिको खेतीप्रतिको ज्ञान, सिँचाइ, दक्ष जनशक्ति लगायतको समस्याका कारण ग्रामीण भेगमा गहुँ, फापर र कोदोको खेती हुने गरेको छ । वर्षात्को समयमा लगाइने यस्ता खेतीले माटो सुहाउँदो खेतीको तुलनामा १० प्रतिशतभन्दा कम उत्पादन हुने गरेको छ ।